डा. भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं, ३० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदै छन् ।डा. भट्टराई पत्नी एवं विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसाद भट्टराईसहित एक साताका लागि डा. भट्टराई भारत जान लागेका हुन् ।त्यस्तै नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले भारतमा केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको समेत भ्रमण गर्नेछन् ।डा. भट्टराईले भारतको बैंगलोरमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिने कार्यक्रम रहेको मिडिया सेन्टरले जनाएको छ । उनी नयाँदिल्ली, मुम्बई र तमिलनाडुसमेत पुग्ने र त्यहाँ रहेका नेपालीहरुको समस्या समाधानका विषयमा परामर्श गर्ने नयाँ शक्तिले जनाएको छ ।त्यस्तै भट्टराईले एक साता लामो भारत बसाइका क्रममा धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको भ्रमण समेत गर्नेछन् । उनको साथमा ८८ वर्षीय बुवा भोजप्रसाद भट्टराई पनि रहनेछन् । बुवासँगै भट्टराईले रामेश्वरम र द्वारकाधामको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।एक साता भारत बसाइ सकेर डा भट्टराई वैशाख ८ गते साँझ स्वदेश फर्किने नयाँ शक्ति पार्टी नेपालको मिडिया सेन्टरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?