एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं, २८ चैत । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ ।पार्टी एकीकरणको विषयमा टुंगो लगाउन पार्टी एकता संयोजन समितिको बैठक बुधबार साँझ बस्ने भएको हो ।प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि पार्टी संयोजन समितिको बैठक बोलाइएको हो ।एमाले महासचिव ईश्वर पोखरेलका अनुसार संयोजन समितिको बैठकले राजनीतिक दस्तावेज लेखन कार्यदल र संगठन तथा आन्तरिक विधान कार्यदलले पेश गरेको दुवै मस्यौदामाथि छलफल हुने बताए ।सो दुवै मस्यौदामा कुनै विवाद नभएका कारण पार्टी एकताका विषयमा कुनै अड्चन नरहेको महासचिव पोखरेलले बताए ।त्यस्तै राजनीतिक दस्तावेजमा समस्या नरहेपनि संगठन तथा आन्तरिक विधानमा भने विवाद छ । यसैगरी एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्ने वा नराख्ने भन्ने विषयमा टुंगो लागेको छैन भने विधानको प्रस्तावनामा ‘जनयुद्ध’शब्द राख्ने वा नराख्ने भन्नेमा पनि विवाद कायमै छ ।पार्टी एकता संयोजन समितिमा एमालेबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल छन् । माओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?