व्यावसायिक तालीमलाई प्रदेशको आवश्यकतानुरुप विस्तार गरिने

काठमाडौँ, २६ चैत- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताका आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताउनुभएको छ ।मन्त्रालयले आज यहाँ आयोजना गरेको रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीलाई कसरी प्रभावकारी बनाउने भन्ने छलफलमा उहाँले आन्तरिक रोजगारीको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक र सीपमूलक तालीम कार्यक्रमलाई प्रदेशको आवश्यकतानुरुप विस्तार गर्न प्राथमिकता दिइने बताउनुभयो ।कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले श्रमको सम्मान गर्ने पद्धतिको विकास, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा मन्त्रालय ठोस रणनीतिका साथ अघि बढ्ने जानकारी दिनुभयो । प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध विभागीय प्रमुख तथा कर्मचारीको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेशमन्त्रीले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगीकार गर्न विभिन्न विषयलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?