पार्टी एकता वैशाखमा टुंगो लाग्नेः नेता रावल

कैलाली, २६ चैत – नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नेकपा (माओवादी) केन्द्रसँगको पार्टी एकता वैशाखमा टुंगो लाग्न सक्ने बताएका छन् ।एमाले प्रदेश संगठन कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले दुवै पार्टीका तर्फबाट प्रतिवेदन तयार भएर पेश भइसकेकाले अब छिट्टै पार्टी एकता हुने जानकारी दिए ।नेता रावलले संघीय मन्त्रिपरिषद्मा प्रदेश नं ७ बाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरेर एमालेका २० सांसद भए पनि सरकारमा प्रतिधित्व नगराइनु अन्यायपूर्ण भएको बताउँदै यस प्रदेशबाट संघीय सरकारमा तत्काल यथोचित र न्यायोचित प्रतिनिधित्व गराउनसमेत माग गरे ।प्रदेश कमिटीको बैठक चैत २३ देखि २६ गतेसम्म धनगढीमा बसेको थियो ।प्रदेश ७ को आर्थिक र व्यापारिक केन्द्रको रूपमा रहेको धनगढीसँग जोडिएको भारतीय गौरीफन्टा नाका बन्द नगर्न र यसलाई अझै सुविधायुक्त बनाउँदै लैजान प्रदेश कमिटीको बैठकले माग गरेको पनि नेता रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?