मोदीसँगको पत्रकार सम्मेलनमा के–के भने ओलीले ?

नयाँदिल्ली, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि नेपाल आर्थिक समद्धिको दिशार्फ अघि बढेको बताएका छन् । भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले नेपाल चुनावको सम्पन्नतासँगै समृद्धिको दिशामा अघि बढेको बताएका हुन् ।आफू नेतृत्वको सरकारको साझा उद्देश्य नै समृद्धि भएको बताउँदै ओलीले नेपाल लगानीको लागि उपयुक्त वातारण भएको पनि बताए । भारतीय निजि तथा पब्लिक कम्पनीलाई नेपालका जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्दै ओलीले कतिपय आयोजना भारतीय लगानीमा बन्दै गरेको पनि सो क्रममा बताए ।यस्तै सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका सवालमा नेपाल गम्भीर रहेको बताउँदै ओलीले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।पत्रकार सम्मेलनका क्रममा ओलीले नेपाल भूपरिवेष्ठित देश नभएको बताउँदै बरु ‘ल्याण्डलिंक्ड’ देश भएको बताए। अहिले नेपाल जलमार्गमा पनि जोडिएको उनको भनाई थियो ।अर्को प्रसंगमा ओलीले काठमाडौं–रक्सौल रेलमार्ग विस्तारमा भारतले सहयोग गर्ने बताएकोमा खुसी व्यक्त गरे । ओली अघि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका मोदीले काठमाडौं रक्सौल रेलमार्ग भारतले बनाउने बताएका थिए ।यस्तै उनले आफूलाई भारतमा भएको न्यानो स्वागतको लागि मोदीलाई धन्यवाद समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?