कमजोर कमल थापा बलिया ओलीविरुद्ध आक्रामक

काठमाडौँ, ८ चैत- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार राष्ट्रिय हित प्रतिकूल चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन समेत बाध्य हुने बताए । उनले आफ्नो पार्टी मुलुकको बैकल्पिक शक्ति भएको दावी गर्दै सोही अनुसार सशक्त र गतिशील भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।विहिबार काभ्रेको धुलिखेलमा सुरु भएको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष थापाले निर्वाचनमा पराजित भएपनि निराश नभई उच्च मनोवलका साथ देश र जनताको सेवामा लागिपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।अध्यक्ष थापाले केही वर्ष भित्रै पार्टीलाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित गराउने दावी समेत गरे ।उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई ५ वर्ष भित्र अग्रणी शक्तिको रुपमा स्थापित गराउने गरी अभियान नै संचालन गर्ने योजना अघि सारे ।अध्यक्ष थापाले गणतन्त्रको नाममा मुलुकमा राष्ट्रिय एकता संकटमा परेको भन्दै चिन्ता पनि व्यक्त गरे ।२ दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पदाधिकारी, केन्द्रिय कार्य सम्पादन समितिका सदस्यहरु र पार्टीका भातृ संगठनका प्रमुखहरु सहभागी भएका छन् । अनुशिक्षण कार्यक्रममा निर्वाचनमा हार व्यहोर्नुपर्नाको कारणको खोजी गर्दै पार्टीको भावी रणनीति तय गर्ने पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?