काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको प्रदर्शन बलियो देखिएको छ । विभिन्न राज्यका सिनेट र गभर्नर पदका चुनावी नतिजा तथा प्रक्षेपणले डेमोक्रेटिक पार्टीको सम्भावना बढाएको देखाएका छन् ।
सीबीएस न्युजका अनुसार टेक्सासको सिनेट सिटमा डेमोक्रेटिक उम्मेदवार जेम्स ट्याबारिकोले जित्ने प्रक्षेपण गरिएको छ । यसअघि डेमोक्रेटिक पार्टीको पक्षमा झुकाव रहेको मानिएको यो प्रतिस्पर्धालाई अहिले जित्ने सम्भावना बढी भएको श्रेणीमा राखिएको छ ।
टेक्सासको गभर्नर चुनावमा पनि डेमोक्रेटिक उम्मेदवार जिना हिनोजोसाको सम्भावना बढेको सीबीएसले जनाएको छ । त्यहाँ रिपब्लिकन गभर्नर ग्रेग एबट र डेमोक्रेटिक उम्मेदवार हिनोजोसाबीच प्रतिस्पर्धा भइरहेको छ ।
ओहायोको सिनेट चुनावमा पनि डेमोक्रेटिक उम्मेदवार सेरोड ब्राउनको पक्षमा सम्भावना देखिएको छ । उनले रिपब्लिकन उम्मेदवार जोन हस्टेडसँग प्रतिस्पर्धा गरिरहेका छन् । यता आयोवामा रिपब्लिकन एश्ले हिन्सन र डेमोक्रेटिक उम्मेदवार जोश टुरेकबीचको प्रतिस्पर्धा भने अनिश्चित छ ।
कान्सासमा डेमोक्रेटिक उम्मेदवार एडम हिल्टन र रिपब्लिकन सिनेटर रोजर मार्शलबीच प्रतिस्पर्धा छ । सीबीएसले यसलाई डेमोक्रेटिक पार्टीको पक्षमा झुकाव रहेको प्रतिस्पर्धाका रूपमा मूल्यांकन गरेको छ । प्रारम्भिक मतगणनामा हिल्टनले १५ प्रतिशतसम्म अग्रता लिएको विवरण सार्वजनिक भएको छ ।
मेन र मिचिगनमा सिनेटका लागि कडा प्रतिस्पर्धा भइरहेको छ भने अलास्कामा मतदान जारी रहेकाले नतिजा आउन बाँकी छ ।
मिसिसिपीको सिनेट चुनावमा पनि प्रतिस्पर्धा रोचक बनेको छ । सीबीएसले यसअघि रिपब्लिकन पार्टीको पक्षमा झुकाव रहेको मानेको उक्त प्रतिस्पर्धालाई अहिले दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने श्रेणीमा राखेको छ ।
त्यहाँ रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई डेमोक्रेटिक उम्मेदवार स्कट कोलोमले चुनौती दिएका छन् । मिसिसिपीमा सन् १९८२ यता डेमोक्रेटिक पार्टीका उम्मेदवार सिनेटर निर्वाचित भएका छैनन् ।
कान्सासको विचिटामा आयोजित डेमोक्रेटिक समर्थकहरूको चुनावी जमघटमा पनि प्रारम्भिक नतिजाले उत्साह बढाएको थियो । एक मतदाताले बीबीसीसँग कुरा गर्दै औपचारिक नतिजा सार्वजनिक हुन बाँकी रहे पनि आफ्नो पार्टीको प्रदर्शन आशाजनक देखिएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया