काठमाडौं । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा पाउने भएका छन् ।
यसका लागि नेपाल बैंक र ‘बाई नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ‘वानबीएनपीएल’ सञ्चालन गर्ने फिनटेक कम्पनी फिनटारा सोलुसन्सबीच सम्झौता भएको छ ।
काठमाडौंस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्डबाहकले ‘वानबीएनपीएल’ को व्यापारिक सञ्जालमार्फत वस्तु तथा सेवा खरिद गर्दा ३ देखि १८ महिनासम्मको किस्ताबन्दी सुविधा लिन सक्नेछन् । यसका लागि ग्राहकले कुनै पनि डाउन पेमेन्ट गर्नुपर्ने छैन ।
‘वानबीएनपीएल’ को सञ्जालमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट, घरायसी उपकरण, अस्पताल, रिसोर्ट तथा होलिडे प्याकेज प्रदायकलगायत १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठान आबद्ध छन् ।
यस सुविधाले ग्राहकलाई एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने बाध्यता हटाउँदै दैनिक उपभोग्य तथा आवश्यक वस्तु र सेवा खरिदलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
सम्झौताबारे नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठकले उदीयमान फिनटेक कम्पनीसँगको साझेदारीमार्फत क्रेडिट कार्डबाहकलाई आधुनिक डिजिटल बीएनपीएल सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए ।
त्यस्तै, फिनटारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष के। शर्माले देशभर ठूलो ग्राहक आधार भएको सरकारी बैंकसँगको सहकार्यले ‘वानबीएनपीएल’ सेवाको विस्तारमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए । यसले क्रेडिट कार्डमार्फत न्यून लागतमा दैनिक आवश्यक खरिदलाई सहज बनाउने उनको भनाइ छ ।
नेपाल बैंकका रिटेल कर्जा विभाग प्रमुख अर्जुनबहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले पनि ग्राहकका बदलिँदा आवश्यकता पूरा गर्न फिनटेक कम्पनीसँगको सहकार्यमा यस्तो सेवा सुरु गर्नु महत्त्वपूर्ण रहेको बताए ।
यस सेवाअन्तर्गत ग्राहकले आफ्नो सुविधाअनुसार ३ देखि १८ महिनासम्मको भुक्तानी अवधि छनोट गर्न सक्नेछन् । खुद्रा व्यापार, मोबाइल तथा ग्याजेट, घरायसी सामान, स्वास्थ्य सेवा, रिसोर्ट तथा भ्रमण प्याकेजलगायत विभिन्न क्षेत्रमा आबद्ध १५० भन्दा बढी व्यापारिक प्रतिष्ठानबाट यो सुविधा लिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया