काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १ हजार ८०३.७१ प्रतिशत अर्थात् झन्डै १९ गुणाले बढी हो ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले जम्मा ५७ लाख ३८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस वर्ष बैंकको सञ्चालन अवस्था पनि सुधार भएको छ । गत वर्ष ६ करोड ३२ लाख रुपैयाँभन्दा बढी सञ्चालन घाटा व्यहोरेको बैंकले यस वर्ष १५ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
बैंकको नाफा बढ्नुको मुख्य कारण कर्जा जोखिम घट्नु हो। बैंकले ग्राहकबाट कर्जा नउठ्ने जोखिमका लागि छुट्याउने रकम २०.८० प्रतिशतले घटाएको छ । गत वर्ष १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी रहेको यस्तो रकम यस वर्ष घटेर १ अर्ब १५ करोड ९४ लाख रुपैयाँमा झरेको छ ।
यद्यपि, बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्ष २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष ३।७१ प्रतिशतले घटेर २ अर्ब ३६ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ ।
अर्कोतर्फ, बैंकले सेवा शुल्क र कमिसनबाट गर्ने आम्दानी भने बढाएको छ । यस्तो आम्दानी ५५.७४ प्रतिशतले बढेर ४७ करोड ९७ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको कुल सञ्चालन आम्दानी ८.८६ प्रतिशतले बढेर २ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्ष १७ पैसा रहेको ईपीएस यस वर्ष ३ रुपैयाँ ५ पैसा पुगेको छ ।
तर, बैंकको वितरणयोग्य नाफामा भने ठूलो गिरावट आएको छ। गत वर्ष २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष ६८.२९ प्रतिशतले घटेर ७८ करोड ८० लाख रुपैयाँमा झरेको छ। त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य रकम ४७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा दुवैमा सामान्य वृद्धि भएको छ । गत असार मसान्तमा ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ रहेको निक्षेप बढेर ३ खर्ब ४८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकले प्रवाह गरेको कर्जा तथा सापटी १.३३ प्रतिशतले बढेर २ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
यता, बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने सामान्य बढेर ४.७९ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया