काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा आफ्नो नाफा १०.१० प्रतिशतले बढाएको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकले ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५० करोड १६ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ । गत वर्ष पहिलो तीन महिनामा १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रहेको यस्तो आम्दानी यस वर्ष घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ ।
तर, ब्याजबाहेकका अन्य आम्दानी बढ्दा बैंकको कुल आम्दानीमा सुधार आएको छ । बैंकले शुल्क तथा कमिसनबाट ३६ करोड ७० लाख रुपैयाँ र धितोपत्र तथा अन्य कारोबारबाट ११ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ७८ करोड ३४ लाख रुपैयाँ र कर तिर्नुअघिको नाफा ७८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
बैंकको निक्षेप संकलनमा पनि राम्रो वृद्धि देखिएको छ । गत असार मसान्तमा २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ रहेको निक्षेप असोज मसान्तसम्म १२.५५ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, बैंकले ग्राहकलाई दिएको कर्जा पनि २.५४ प्रतिशतले बढाएको छ । गत असार मसान्तमा १ खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ रहेको कर्जा असोज मसान्तसम्म बढेर १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
यद्यपि, बैंकको खराब कर्जा भने केही बढेको छ । गत वर्षको पहिलो तीन महिनामा ३.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ३.१९ प्रतिशत पुगेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) वार्षिक १९ रुपैयाँ ४९ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया