काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा ४ प्रतिशतभन्दा बढीले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफामा सामान्य सुधार देखिए पनि मुख्य आम्दानीका स्रोत भने कमजोर बनेका छन्। विशेषगरी ब्याजबाट हुने आम्दानीमा गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटिरहेको र कर्जाको माग पनि अपेक्षाअनुसार बढ्न नसक्दा बैंकको खुद ब्याज आम्दानी प्रभावित भएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर १ अर्ब ८८ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २ अर्ब २८ करोड रुपैयाँभन्दा बढी थियो ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १९ करोड ३५ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष घटेर १६ करोड १४ लाख रुपैयाँमा झरेको छ ।
यद्यपि, जोखिमयुक्त कर्जाबाट हुन सक्ने नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम घटेपछि बैंकको नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ । गत वर्ष १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर ९२ करोड ९४ लाख रुपैयाँमा आएको छ । जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम घटेकै कारण मुख्य आम्दानी घट्दा पनि बैंकले नाफा बढाउन सकेको हो ।
बैंकको जगेडा कोषमा २६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ। तर, वितरणयोग्य नाफा भने १५ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक छ ।
यसले बैंकको वित्तीय आधार बलियो देखिए पनि तत्काल सेयरधनीलाई लाभांश बाँड्ने अवस्था सहज नरहेको संकेत गर्छ । त्यसैले एनआईसी एशिया बैंकका लगानीकर्ताले लाभांशका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया