स्ट्यान्डर्ड चार्टर्डको खुद नाफामा २.९९ प्रतिशतको गिरावट

लोकपथ
0
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९९ प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको ब्याज आम्दानी र सेवा शुल्कबाट हुने आम्दानी घटेको छ । तर विदेशी मुद्रा कारोबारबाट हुने आम्दानी बढ्दा केही राहत मिलेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर १ अर्ब २ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सेवा शुल्क तथा कमिसनबाट हुने आम्दानी २५.७४ प्रतिशतले घटेर ३० करोड ९१ लाख रुपैयाँमा झरेको छ।

तर विदेशी मुद्रा तथा ट्रेडिङ कारोबारबाट हुने आम्दानी भने ५३.९६ प्रतिशतले बढेर २९ करोड ४८ लाख रुपैयाँ पुगेको छ । समग्रमा बैंकको कुल सञ्चालन आम्दानी २.८२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।

आम्दानी घटे पनि बैंकको सञ्चालन मुनाफा भने बढेको छ । बैंकले सम्भावित कर्जा जोखिमका लागि छुट्याएको रकममध्ये ६ करोड ४२ लाख रुपैयाँ फिर्ता गर्न सफल भएको छ। गत वर्षको सोही अवधिमा बैंकले यस्तो जोखिम व्यवस्थापनका लागि १७ करोड ८६ लाख रुपैयाँ खर्च गरेको थियो ।

यसकै कारण बैंकको सञ्चालन मुनाफा ९.४० प्रतिशतले बढेर १ अर्ब ८ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको वितरणयोग्य नाफा पनि सामान्य बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ४१ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा ४१ करोड ४६ लाख रुपैयाँ थियो। बैंकको कुल वितरणयोग्य सञ्चित कोष २ अर्ब २२ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात १.८३ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा नोक्सानी सुरक्षण अनुपात १४२.५९ प्रतिशत छ। यसले बैंकले सम्भावित कर्जा जोखिमका लागि पर्याप्त रकम छुट्याएको देखाउँछ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत वर्ष २७ रुपैयाँ ५७ पैसा रहेको ईपीएस यस वर्ष २६ रुपैयाँ ७४ पैसामा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने २३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा दुवैमा सामान्य वृद्धि भएको छ । गत असार मसान्तको तुलनामा बैंकको निक्षेप १.१५ प्रतिशतले बढेर १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकले प्रवाह गरेको कर्जा तथा सापट १.७० प्रतिशतले बढेर ६७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?