सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।

नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै थापाले सरकारका पछिल्ला निर्णय र घटनाक्रमले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यताविपरीतका गतिविधिविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने स्पष्ट पारे ।

पत्रकार पक्राउ प्रकरणलाई गम्भीर रूपमा उठाउँदै थापाले सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरे । पत्रकार पक्राउ गर्न कसले आदेश दिएको हो, कुन कानुनका आधारमा पक्राउ गरिएको हो र त्यसमा को जिम्मेवार छ भन्ने विषय सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ थापाले भने ।

उनले सरकारमा रहेका व्यक्तिको व्यक्तिगत इच्छा कानुन बन्न नसक्ने उल्लेख गर्दै राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताए । साथै, सरकारी कर्मचारीलाई कार्यस्थलबाटै पक्राउ गरी प्रधानमन्त्री कार्यालय पुर्‍याइएको घटनामा पनि स्थापित कानुनी तथा प्रशासनिक प्रक्रिया पालना नभएको भन्दै प्रश्न उठाए ।

थापाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका राम्रा कामको श्रेय लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए । सरकारको नेतृत्व गर्ने दलले सरकारका निर्णय र गतिविधिको राजनीतिक जिम्मेवारी लिनुपर्ने उनको धारणा छ ।

सरकारलाई जवाफदेही बनाउनु प्रतिपक्षको प्रमुख दायित्व भएको उल्लेख गर्दै थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको रक्षाका लागि नेपाली कांग्रेसले निरन्तर निगरानी र खबरदारी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?