कुमारी बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा बढेर ८.७२ प्रतिशत पुग्यो

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा १ दशमलव ७० प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म यो रकम बढेर १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्ष २ अर्ब ९१ करोड रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष घटेर २ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । यो २८ दशमलव १९ प्रतिशतको गिरावट हो ।

खुद ब्याज आम्दानी घटे पनि कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम कम भएकाले बैंकको नाफामा सुधार देखिएको हो । गत वर्ष १ अर्ब २६ करोड रुपैयाँ रहेको यस्तो खर्च यस वर्ष घटेर ४४ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

यसको प्रभाव बैंकको सञ्चालन मुनाफामा पनि देखिएको छ । समीक्षा अवधिमा सञ्चालन मुनाफा ३२ दशमलव ४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ । गत असार मसान्तको तुलनामा निक्षेप ६ दशमलव ३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह ७ दशमलव ६८ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

अर्कोतर्फ बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ६ दशमलव ९८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ८ दशमलव ७२ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा पनि १ दशमलव ५६ प्रतिशतबाट बढेर २ दशमलव १७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ११ पैसाबाट बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ । तर, पुँजीमा प्रतिफल (आरओई) ११ दशमलव १० प्रतिशतबाट घटेर ९ दशमलव ५१ प्रतिशतमा झरेको छ। सम्पत्तिमा प्रतिफल (आरओए) पनि ० दशमलव ९६ प्रतिशतबाट घटेर ० दशमलव ८२ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?