काठमाडौं । सरकारले कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका तर निष्कृय अवस्थामा रहेका कम्पनीलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा गर्ने समय थप गरेको छ ।
कार्तिक ९ गतेको सरकारको निर्णय अनुसार त्यस्ता कम्पनीहरुको सुविधाका लागि यो म्याद असोज मसान्तबाट बढाएर आगामी पुस मसान्तसम्म थप गरिएको छ ।
अर्थमन्त्रालयका अनुसार त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२–०८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ ।
कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहने त्यस्ता कम्पनीहरुले यो सुविधा लिन सक्ने अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२–०८३ को लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण आगामी पुस मसान्तभित्र पेस गर्नुपर्नेछ ।
‘कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२र८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ,’ अर्थमन्त्रालयले भनेको छ ।
यसअघि मिनाहाको अवधि असोज मसान्तसम्म रहेकोमा समयावधि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया