काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ८ दिनका लागि उक्त रकम खिच्न लागेको हो । यसका लागि आज कात्तिक १२ गते अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुनेछ । सहभागी बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् ।
निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ। साथै, कुल बोलकबोल रकम राष्ट्र बैंकले आह्वान गरेको १५० अर्ब रुपैयाँभन्दा बढी हुन पाउने छैन ।
यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक २० गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन तथा अल्पकालीन ब्याजदरलाई प्रभावकारी बनाउन केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया