इनम सापकोटा पक्राउ प्रकरण : समाचारको सत्यता र स्रोतको आधिकारिकता जाँच गर्न सञ्चारमाध्यमलाई प्रहरीको आग्रह

लोकपथ
119
Shares

काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सापकोटासम्बन्धी विवरण सार्वजनिक गर्नुअघि समाचारको सत्यता र स्रोतको आधिकारिकता जाँच गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सापकोटामाथि कानुनबमोजिम अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाण तथा गोप्य सूचना कुनै पनि व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ ।

प्रहरीका अनुसार सापकोटाबारे सार्वजनिक भएका समाचार प्रहरीबाट प्राप्त आधिकारिक सूचनामा आधारित छैनन् । अपुष्ट विवरणका आधारमा समाचार सम्प्रेषण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको निष्पक्षता र गोपनीयता कायम राख्न जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरेको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेपछि उनको मोबाइल फोनको प्राविधिक परीक्षण गरिएको र त्यस क्रममा जबरा तथा सापकोटाबीच निकट सम्बन्ध रहेको दाबीसहितका समाचार बाहिरिएका थिए । त्यसपछि सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको विवरणसमेत सार्वजनिक भएको थियो ।

यसैबीच, सापकोटाको मोबाइल परीक्षणका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एआईजी राजन अधिकारी, पूर्वएआईजी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलसँग सम्बन्ध देखिएको दाबी विभिन्न सञ्चारमाध्यमले गरेका छन् ।

यद्यपि, ती व्यक्तिहरूसँग सापकोटाको सम्बन्ध रहेको भन्ने विवरणलाई प्रहरीले आधिकारिक रूपमा पुष्टि गरेको छैन । प्रहरीले अनुसन्धानसँग सम्बन्धित तथ्य र प्रमाणबारे आधिकारिक पुष्टि नभएसम्म सार्वजनिक भएका दाबीलाई प्रमाणित तथ्यका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?