त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धार कठिन, टोली भन्छ– ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौँ’

लोकपथ
0
Shares

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य कठिन बनेको छ ।

शुक्रबार उद्धार टोलीले सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरेको थियो । उनीहरूलाई हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी लगेर उपचार भइरहेको छ । खोजीका क्रममा एक जनाको शवसमेत निकालिएको छ ।

उद्धारमा खटिएका अधिकारीहरूका अनुसार सुरुङभित्र मुढा, ठूला ढुंगा, लेदो र आरसीसी संरचना भासिएकाले भित्र जान निकै समस्या भएको छ । सुरुङ पानी र लेदोले भरिएकाले थप व्यक्तिको खोजी गर्न पनि कठिन भएको बताइएको छ ।

शुक्रबार बिहानदेखि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरीका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको टोली उद्धारमा खटिएको थियो ।

उद्धार टोलीले थप व्यक्तिको खोजी गरिरहे पनि सुरुङभित्रको अवस्था जटिल बनेपछि शुक्रबारको उद्धार कार्य स्थगित गरिएको छ । टोलीले अवस्था सहज भएपछि पुनः खोजी तथा उद्धार कार्य अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?