एनसेलले बाढी प्रभावित क्षेत्रमा थप ७ दिन निःशुल्क सेवा दिने

लोकपथ
0
Shares

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिन जारी राख्ने भएको छ ।

एनसेलका अनुसार भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रमा यी सेवा निःशुल्क उपलब्ध हुनेछन् । सहज सञ्चारसँगै खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क सेवा थप गरिएको कम्पनीले जनाएको छ ।

यसअघि एनसेलले बाढी आएको भदौ १० गतेदेखि प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क सेवा दिने घोषणा गरेको थियो । त्यसपछि उक्त अवधि थप ७ दिन बढाएर भदौ १९ गतेसम्म पुर्‍याइएको थियो ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेका छन् । विपद्का बेला निःशुल्क सञ्चार सेवाले प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई समन्वय गर्न सहयोग पुग्ने उनले बताए ।

विपद्को समयमा सूचना आदानप्रदान तथा उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन सञ्चार सेवाले महत्वपूर्ण भूमिका खेल्ने एनसेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?