भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्रसङ्घले ४ करोड ९६ लाख डलर सहयोग गर्ने

लोकपथ
49
Shares

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउने भएको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकलाई जीवनरक्षक सहायता उपलब्ध गराउन राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपिल गरेको हो ।

नेपाल सरकारले तयार पारेको चार महिनाको राहत तथा पुनःस्थापना योजनालाई यो सहयोगले प्राथमिकता दिने राष्ट्रसङ्घले जनाएको छ ।

विशेषगरी जाडो सुरु हुनुअघि उच्च हिमाली क्षेत्रका प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने र सरुवा रोगको जोखिम कम गर्ने योजना छ ।

बाढीबाट रसुवा, नुवाकोट र धादिङका धेरै बस्ती प्रभावित भएका छन् । सडक, विद्युत्, खानेपानी तथा सरसफाइका संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकलाई दैनिक आवश्यकताका सामग्री पाउन समस्या भएको छ ।

राष्ट्रसङ्घको सहयोगबाट क्षतिग्रस्त खानेपानी संरचना मर्मत, पानी शुद्धीकरण प्रणाली जडान र सरसफाइका सामग्री वितरण गरिनेछ । साथै घुम्ती स्वास्थ्य शिविरमार्फत उपचार तथा पोषण सहयोग उपलब्ध गराइनेछ ।

परिवारबाट छुट्टिएका बालबालिकाको परिवारसँग पुनर्मिलन गराउने, प्रभावित परिवारलाई खाद्यान्न उपलब्ध गराउने र बाँचेका पशुचौपायाको व्यवस्थापनमार्फत ग्रामीण नागरिकको जीविकोपार्जन जोगाउने काम पनि गरिने राष्ट्रसङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?