मनलाई अलि बाँधेर, आफैँलाई अलि सम्हालेर, बाढीको साता बितेपछि मात्रै यी शब्दहरु कोर्ने आँट मनमा आयो ।
०७२ वैशाख १२ को भूकम्पले उजाडेको घरको जग खोतेलेर बल्ततल्त नयाँ घर बनायौँ, तर बाढीले अहिले न जग खोतल्ने ठाउँ राखिदियो, न नयाँ जग हाल्ने जग्गा नै । बुढी हुँदै गएकी मेरी आमालाई अलिकति खुसी दिउँला, घरजम गरौँला, जीवनलाई नयाँ मोडमा लैजाउँला, यी र यीनै सपनाहरु देख्दै समय बितिरहेको थियो, तर…..
०८३ भदौ १० को कहालीलाग्दो त्यो दिन । चलचित्र हेर्दै गरेको समयमा दिदि (मामाको छोरी) बाट आएको अत्तालिएको आवाज, जहाँ ‘त्रिशूलीमा बाढी आयो, हामी सुरक्षित छौँ तर घरखेत सबै लग्यो’ भन्ने आवाजले फिल्ममा रमाइरहेको मन अत्तालियो । जतिबेला त्रिशूली गडगडाएर आइरहेको रहेछ, त्यति नै बेला म ‘टक्सिक’ भन्ने फिल्म हेरिरहेको थिएँ । फिल्म आधा मात्र हेरेको थिएँ, बाँकी कहानी अधुरो रह्यो । मैले देखेका जीन्दगीका सपना, जो फिल्मकै कहानी जस्तै अधुरो बनेको छ ।
‘बाढी आयो, हामी माथि आएका छौँ, अरु सबै लग्यो’ आमाको त्यो अत्यासलाग्दो आवाज । त्यही आवाजले त्यस दिन मात्र भन्दा अहिले झन अत्याइरहेको छ ।
१० दिनको नाबालक मलाई काखमा बोकेर आश्रय खोज्दै भैँसे आएकी आमाको दुःख, मलाई पढाउन गरेका संघर्ष, ओत लाग्ने छानो हाल्दा भोगेका अभावहरु त्यहीमाथि विपत्तिले पटकपटक उजाडिदिँदाको पीडा शब्दहरु भन्दा माथि छन् ।

बाढी आयो, घर लग्यो, समुदाय छिन्नभिन्न बनायो । त्यही दिन नै सामाजिक सञ्जालमा आएका भिडियोमा सबै दुखान्तहरु देँखे । म चाहन्थे त्यही दिन आफ्नो जन्मभूमी जाउँ, त्यस ठाउँ हेरौँ । तर बाटोको असहजता र बारम्बार पुनः बाढी आउने सन्त्रासले जान सकिएन । तर करिब दिउँसो १ बजेतिर हिम्मत गरेर नुवाकोटका लागि लागेँ ।
काठमाडौंबाट घर जाँदा बाटोमा आइरहने ‘कहाँ आइपुग्यौँ ?’ भन्ने आमाको नम्बरबाट त्यो दिन फोन आएन । जाने बाटो उही थियो, उही थिएँ म, तर ‘म’ भित्रको ‘म’ का बिडम्बना र परिस्थिति फेरिएको थियो । पहिले जाँदा घर थियो, छरछिमेकी इष्टमित्र आफन्त थिए, गुल्जार बजार थियो । म पुग्ने बित्तिकै भेट्न आउने साथीभाई, केहीबेरमा खाजा खान जाने बजार, साँझ सुस्ताउने पार्क चौतारी यावत सबै थिए, थियो त्यो स्वर्ग जस्तै । भदौ १० मा घर जान जबजब अघि बढ्दै गएँ, म सँग केवल ‘मेरो परिवार, आफन्त र छरछिमेकीलाई केही नभइदिएको होस्’ भन्ने कामना बाहेक केही थिएन ।
बाटोभरी त्यही कामना गरिरहेँ, जब नुवाकोटको भूमी टेकेँ, विदुर, ढुँगे हुँदै घर पुग्ने बाटो थियो । सदरमुकाम विदुरबाट केही मिनेटमै घर पुगिन्थ्यो । तर त्यस दिन म गाउँ भएको ठाउँमा त के पुग्नु । आमा र आफन्त खोज्दै विदुरबाट नुवाकोट दरबार, चोगते, फलाँटे, गेर्खु हुँदै गेर्खुटार पुगेँ । आमाहरु गेर्खुटारमा हुनुहन्छ भन्ने खबर थियो । मलाई आमाको अघि कसरी फेस गर्ने भन्ने कुराले बिचल्ली बनाउँदै थियो ।
जब आमालाई भेटेँ, त्यो पल, केवल शब्दमा बयान गर्न सक्दिन………………………..।
‘घरबारी सबै गयो’ भन्दै आमा रुन थाल्नुभयो । मैले ठिक छ हामी बाँच्यौँ, भन्दै सम्झाएँ, तर मन सम्झिएन । आमा झन कमजोर बन्नुहोला भनेर सकेसम्म आमाको अघि आँशु निकालिन् ।
आमालाई भेटेपछि केही राहत महसुस भयो । गेर्खुटार पुगेपछि बाँकी दिन त्यतैतिर एक अर्कालाई हेर्दै बितायौँ, साँझ परेपछि आमा र म छिमेकीको आफन्तकोमा बास खोज्दै फलाटेँ पुग्यौँ ।
सबै गुमाएर क्षणभरमै सुकुमबासी बन्दै अरुको घरमा आश्रय लिन पुग्नुपर्दाको क्षण सायद जीन्दगीकै नरमाइलो क्षण थियो । रातभर निद्रा लागेन । सारा गुमाएर आश्रय खोज्दै अरुको आँगन टेक्न पुग्दाको कहालीलाग्दो पलले अहिले पनि अत्याइरहन्छ ।
भावविहीन भदौ ११ को बिहान
जब बाढीको भोलिपल्ट उठेँ, ओच्छ्यानबाटै रुन मन लाग्यो । त्यो पल सम्झिँदा मन कुँडिएर आउँछ । धन्न ज्यान बाँच्यो, आमा हुनुहुन्छ भन्ने कुराले केही राहत महसुस गरेर रात बिताएँ, थाहा छैन आमाले कुन मनोदशाले रात बिताउनुभयो होला ।
बिहानै भैँसे (विदुर नगरपालिका १०, हाम्रो गाउँ) का केही छरछिमेकी, आफन्तहरुसँग भेट भयो । सबै जना सबैथोक गुमाएर अरुकै साहरामा रात काटेर ब्यूझिँएका थिए । सबैको आँखाले भनिरहेको थियो, ‘अब कहाँ जाने ? अब के गर्ने ?’
एउटा पल यस्तो थियो, जहाँ भेटिएका आफन्तहरुबिच ‘सरकारले अन्यत्रै लगेछ भने पनि हामी चाँही एकै भूगोल पारेर बस्नुपर्छ है ?’ भन्ने सल्लाह हुँदै थियो । मैले आफूलाई सम्हाल्न सकिन्, आमा दिदी काकाकाकी छिमेकी आफन्त रोएको हेर्न नसकेर म अल्लि पर पुगेर बरबर आशुँ झार्दैै बसिरहेँ ।

भैसेँमा हाम्रो मिक्स कम्युनिटी थियो । ६०–६५ घरधुरी हाराहारी रहेको भैसेँको आफ्नै पहिचान थियो । नेवार, तामाङ, राई मगर र अन्य समुदाय । फरकफरक जात, रितिरिवाज तैपनि अनेकतामा एकता सबै खोसिएको थियो । हाम्रो गाउँको भौतिक सम्पत्ति मात्र होइन ९–१० जना सम्पर्कविहीन भए । अब कस्तो बन्ला त्यो ठाउँ ? के होला त्यहाँको हालत ? सोच्दा मन चसक्क हुन्छ ।
बाढीको दोस्रो दिन आफन्तहरुसँग पुनः भेट्ने बाचासहित आमा र म काठमाडौंँ आयौँ ।
त्यसको केही दिनपछि होल्डिङ सेन्टरमा आफ्नो परिवारको नाम टिपाउन नुवाकोट पुगेँ । काठमाडौंका सुकुमबासी बस्तीको रिपोर्टिङ धेरैपटक गरेको छु । उनीहरुको पीडाले मन पिरोल्थ्यो तर आफैँ लगभग उही हालतमा पुग्दा त्यसले सुकुमबासीहरुले वर्र्षौँदेखि भोगिरहेको पीडा एकाएक सम्झना गराइदियो । सबै थोक गुमाएर आश्रयका लागि सरकारसँग राहतका लागि हात थाप्न जानुपर्दा आफैँले आफैँलाई केही नभएको, कमजोर महसुस हुने रहेछ ।
कुन बगरमा होलान् मेरा ती मेडल र प्रमाणपत्र
संसारको सबैभन्दा सुरक्षित स्थान घर मानिन्छ । जहाँ बास मात्र बसिन्न, हजारौँ स्मृतीहरु हुन्छन्, आफ्ना सुख, दुख, खुसी हाँसो सबै त्यही घरको चारभित्ताले देखेको हुन्छ । आमा र मैले दुःख गरेर भूकम्पको राहत र आफूले पैसा खोजेर बनाएको घर । मैले अनेक काम गरेर जोडेका सामानहरु, आमाले दुख गरेर कमाएको पैसा र जोडेका गरगहनाहरु, ती सबै बगे ।
घरमा अझै, अझै डेकोरेसन गर्छु भन्ने सोच्दै थिएँ । रिसोर्ट टाइपको एकतले घर, घरलाई वरिपरि कम्पाउण्ड गरेर सुरक्षित बनाएको थिएँ । तर निमेषभरमै आएको बाढीले ती सबै शून्यमा शून्यसरी बिलायो ।
सानैबाट खेलकुदमा रुची भएको म । विभिन्न खेल जितेर पाएको प्रमाणपत्र, मेडलहरु, टोकन अफ लभ जो दराजमा सजाएर राखेको थिएँ । प्रत्येकपटक घर जाँदा त्यही मेडल हेरेर आफूले जितेका खेलहरु याद आउने गर्दथ्यो ।

बालापनमा पुर्याउँथ्यो, केही गरियो भन्ने दर्शाउँथ्यो, तर ती सम्झनाले अहिले मन चिरिन्छ । कुन बगरमा पुगेको होला ती सबै मेरा चिनारीहरु । कतै खोतल्न मिल्ने भए खोतलेर निकाल्थेँ भन्ने लाग्छ ।
कामको शिलशिलामा म काठमाडौं बस्छु, जब छुट्टी हुन्थ्यो आमालाई भेट्न गइरहन्थे । कामको शिलशिलामा नुवाकोट पुगेका बेला आमा भेट्नकै लागि भए पनि घर पुग्थेँ । तर अब घर भन्दै कहाँ जाने ? कहाँ बसाल्ने हाम्रो घरको जग ? सोच्दा पनि………….।
आफ्नै दुःख भुलेर अरुको पीडा खिच्न रसुवा पुगेको त्यो क्षण
पेशाले म पत्रकार । फोटोग्राफी र भिडियोग्राफीमा मेरो विशेष रुची । आफैँले सबै कुरा गुमाए पनि झोक्राएर बस्न मन भएन । बाढी प्रभावित भएका कारण अफिसबाट काममा आउन कुनै प्रेसर त थिएन, तर यो बेला प्रभावितहरुको कुरा राज्यका माथिल्ला निकायसम्म पुर्याउनुपर्छ भन्दै रमेश सर र म रिपोर्टिङका लागि रसुवा पुग्यौँ ।
मेरो घर नै सीमावर्ती बजारमा, रसुवा मेरा लागि कुनै नौलो ठाउँ होइन । कहिलेकाँही खाजा खानैका लागि पनि नुवाकोटबाट पारी तरेर रसुवा पुग्ने गरेका थियौँ । रिपोर्टिङकै शिललिशलामा पनि रसुवा पुगेको थिएँ । काठमाडौंबाट केही घण्टामा रसुवा पुग्न सकिने, त्रिशूलीको किनारै किनार आनन्द छुट्टै आउथ्यो । तर अहिले बल्लतल्ल १०–११ घण्टामा कठिन बाटो छिचोल्दै रसुवा पुग्यौँ । त्यहाँका कथा र बेथा छुट्टै थियो । कोहीको सबै परिवार बेखबर थिए, कोहीको सबै सम्पत्ति बगर बनेको थियो । कोही घाइते अंगभंग । धेरै जना केही दिनदेखिका भोका अनुहार लिएर बसेका ।
बाढीपछि सम्पूर्ण सञ्जालबाट बिच्छेद भएको रसुवा, जुन शब्दमा बयान गर्न नसिकने आर्तनादमा थियो र अहिले पनि छ । त्यहाँ परिवार नै गुमाएर एक्लो बनेकाहरु देख्दा लाग्यो, मेरो सम्पत्ति सबै गुम्यो तर कम्तिमा परिवार सुरक्षित छ, अब दुःख गरेर उठ्नुपर्छ, निराशाकाबिच पनि उठ्नुपर्छ भन्ने आशा दियो रसुवाको चित्कारले । सधैँ मैले रोजेको पत्रकारिता पेशाले मलाई सन्तुष्टी दिएको छ । मैले भुईँमान्छेका कुराहरु क्यामेरा र मनमा कैद गर्न पाउँछु ।
भूकम्पले क्षतविच्छेद बनाएको गाउँ पुनः उठ्यो । सबै संरचना बन्यो, गाउँमा थप विकास पुग्यो । जिल्ला सदरमुकामबाट केही मिनेटमै पुग्ने गाउँ फेरि हराभरा बनाउन मन छ । तर भेलबाढीको सन्त्रासले बगर बनेको गाउँ पुनः लयमा फर्किएला र ? कि त्यो मसानघाट जस्तो सुनसान बन्ला ? फेरि गाउँ त्यही लयमा फर्कियोस् भन्ने चाहना र कामना छ ।
राज्यलाई भुईँमान्छेको वास्तविक अवस्था देखाएर सतर्क गराउन र त्यसबाट समस्या समाधान भएको खबर पाउँदा खुसी लाग्छ । यो पालीको रसुवा रिपोर्टिङ त्यस्तै रह्यो ।
हामी पुग्दा रसुवामा खास्सै कोही सञ्चारकर्मी पुगेका थिएनन्, सामाजिक सञ्जालबाट मात्रै आक्कलझुक्कल त्यहाँको खबरहरु आउथ्यो । हामी कठिन यात्रा पार गरेर जब रसुवा पुगेर त्यहाँको वास्तविक अवस्था देखाउन पायौँ, त्यसले गर्दा पनि रसुवाका नागरिकहरुका लागि केही राहत पुग्न सक्यो ।
………जब रसुवाबाट क्यामेराले गाउँ नियालेर हेरेँ
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् ‘जन्मदिने आमा र मातृभूमि स्वर्गभन्दा पनि महान हुन्छन्’ । जब बाढीपछि पहिलोपटक आमा देखेँ, शब्दमा बयान गर्न नसक्ने पीडा भयो । गाउँ सम्झिँदा मलाई त्यस्तै भइरहेको छ । अहिले जाने हो भने जेनतेन बगर बनेको गाउँ जान सकिन्छ, तर कसरी गाउँसँग साक्षात्कार गर्ने ? शब्दहरु हराएका छन् ।
रिपोर्टिङको क्रममा रसुवाबाट भिडियो क्यामेराबाट जुम गरेर गाउँ नियालेर हेरेँ । हल्का धमिलो देखियो । तर, त्यही धमिलो भिडियोबाट स्पष्ट रुपमा यादहरु आए, साथीहरुसँग बरको बोटको लहरामा झुन्डिएर खेलेका यादहरु, पौडी खेल्ने पोखरी, गुच्चा खेल्ने दोबाटोहरु । साथीहरु मिलेर खेल्ने चौर, पार्क । अब ती कहिले बल्नाल् ? नबन्लान् ? कि त्यो ठाउँ सबैले छाडेर, जानैँ डर लाग्ने पो बन्ला कि ? यस्तै यस्तै कुरा मनमा खेलिरहेका छन् ।

रसुवाबाट फर्किँदा जब सीमावर्ती बजार बेत्रावती पुगेँ । साथीहरुसँग साँझ खाजा खान जाने ठाउँ, अनेकौँ स्मृतीहरु जोडिएको त्यो बेत्रावती बजार बगर बनेको देख्दा मनलाई बिचलित बनायो, पुराना ती सबै स्मृतीहरु पनि त्रिशूलीकै बगर बने । मुस्किलले यो बजार यस्तो थियो भन्ने अलिअलि चिनारी रहेका घडीघर र केही भौतिक संरचना बाहेक केही छैन ।
गाउँलाई फेरि हराभरा बनाउन मन छ, तर डर छ
भूकम्पले क्षतविच्छेद बनाएको गाउँ पुनः उठ्यो । सबै संरचना बन्यो, गाउँमा थप विकास पुग्यो । जिल्ला सदरमुकामबाट केही मिनेटमै पुग्ने गाउँ फेरि हराभरा बनाउन मन छ । तर भेलबाढीको सन्त्रासले बगर बनेको गाउँ पुनः लयमा फर्किएला र ? कि त्यो मसानघाट जस्तो सुनसान बन्ला ? फेरि गाउँ त्यही लयमा फर्कियोस् भन्ने चाहना र कामना छ । तर कल्पनै नगरेको विपत्तिले बढारेको गाउँ पुनः बढार्छ कि भन्ने डर जिन्दगीभर रहिरहन्छ । यदी त्यहीँ बसियो भने पनि प्रत्येक दिन, प्रत्येक पल त्यही भय र त्रासमा बाँच्नुपर्ने अवस्था आउँछ कि भन्ने कुराले बरु अन्तै कतै सरकारले बसोबासको व्यवस्था गरिदियोस् यही आशा र अपेक्षा छ म अनि ‘म’हरुको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया