भोटेकोशी बाढी प्रभावितलाई वरुण वेभरेजको एक करोडभन्दा बढी आर्थिक सहयोग

लोकपथ
105
Shares

काठमाडौं । वरुण वेभरेज प्रालिले रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण प्रभावितका लागि सरकारलाई १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

वरुण वेभरेजका प्रतिनिधिहरुले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर एक करोड एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

पेप्सी कम्पनीको नामले परिचित वरुण वेभरेजको तर्फबाट फाइनान्स डाइरेक्टर सञ्जीव अरोराले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गराएका हुन् ।

साथै आफ्नो कम्पनीको तर्फबाट सामाजिक उत्तरदायित्वमा पर्ने अन्य सहयोगहरू पनि निरन्तर गरिरहने कम्पनीले जनाएको छ ।

पेप्सी कम्पनीको नामले परिचित वरुण वेभरेज पेप्सी, मिरिन्डा, माउन्टेन ड्यु, स्लाइस, स्टिङ इजर्नी ड्रिंक्स आदि उत्पादन गरिरहेको उद्योग हो । चिसो पेय पदार्थको उत्पादन र विक्री वितरणमा नेपालमा वरुण वेभरेजको बजार हिस्सा करिब ४५ प्रतिशत रहेको छ भने त्यसको करिब ८५ प्रतिशत हिस्सा माउन्टेन ड्युको मात्रै रहेको छ ।

वरुण वेभरेज प्रालि लगातार नाफा कमाइरहेको ठुलो करदाता समेत हो । वेभरजेले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको पेप्सीकोलामा आरु नामक स्वास्थ्य क्लिनिक स्थापना गरी निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणसमेत गरिरहेको छ भने विराटनगरमा निःशुल्क आँखा क्लिनिक सञ्चालन गरिरहेको छ ।

त्यसबाहेक आफ्नो प्लान्ट रहेको नवलपरासीमा समेत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?