काठमाडौं । सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सशस्त्र प्रहरी मुख्यालय हातामै सञ्चालित पेट्रोल पम्पको रकम हिनामिनामा संलग्न दुई जना पूर्वपेट्रोल पम्प प्रमुखले पनि रकम बुझाएका छन् ।
पूर्वपेट्रोल पम्प प्रमुख सशस्त्र प्रहरी निरीक्षक मोहन देवकोटाले ३० लाख र सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले थप १० लाख रुपैयाँ बुझाएका हुन् ।
लोकपथले गत असार २८ गते ‘सशस्त्रको पेट्रोल पम्पको ६० लाख रुपैयाँ उठ्यो, अर्का इन्स्पेक्टरले पनि ४५ लाख तिर्न बाँकी रहेको खुलासा’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा सशस्त्र प्रहरी निरीक्षक देवकोटाले ४५ लाख तिर्न बाँकी रहेको र अर्का सशस्त्र प्रहरी निरीक्षक पाण्डेले ३५ लाखमध्ये थप १० लाख रुपैयाँ अझै तिर्न बाँकी रहेको लेखेको थियो ।
असार २८ गते समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी निरीक्षक देवकोटाले ३० लाख रुपैयाँ बुझाएका हुन् । उनले बाँकी १५ लाख रुपैयाँ चाँडै नै तिर्ने वचन दिएको पनि स्रोतको भनाइ छ ।
यस्तै, लोकपथ डटकमले गत जेठ १९ गते ‘सशस्त्रको कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा ब्रम्हलुट, तत्कालीन पम्प प्रमुख र लेखा अधिकृतलाई ३५/३५ लाख रुपैयाँ तिर्न दिइएको निर्देशन पनि बेवास्ता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सो समाचार प्रकाशन भएपछि पम्पका तत्कालीन प्रमुख सशस्त्र प्रहरी निरीक्षक पाण्डे र तत्कालीन लेखा अधिकृत सशस्त्र प्रहरी नायव निरीक्षक (सई) भीम चन्दले ७० लाखमध्ये ६० लाख रुपैयाँ बुझाएका थिए । सई चन्दले आफ्नो भागमा परेको ३५ लाख रुपैयाँ बुझाउँदा सशस्त्र प्रहरी निरीक्षक पाण्डेले भने २५ लाख रुपैयाँ बुझाएका थिए । उनले बाँकी १० लाख रुपैयाँ पनि बुझाइसकेको स्रोतको भनाइ छ ।
अझै १५ लाख रुपैयाँ तिर्न बाँकी रहेका पेट्रोल पम्पका तत्कालीन प्रमुख सशस्त्र प्रहरी निरीक्षक सिन्धुलीका देवकोटाले पम्पको रकम हिनामिना गरी मदिरा बिक्री वितरणमा लगानी गरेको पनि स्रोतको भनाइ छ ।
देवकोटा तिनै अधिकृत हुन्, जो ग्राहकलाई परिमाणभन्दा कम पेट्रोलियम पदार्थ दिने गर्थे । साथै पेट्रोलमा डिजेल मिसाएर बिक्री गरेको आरोप पनि उनीमाथि लागेको थियो । उनीहरूको यस्तो बदमासी खुलेपछि सशस्त्र प्रहरी निरीक्षक देवकोटा र एकाउन्ट हेर्ने टेकराज लम्साललाई कार्यकाल नसकिँदै फिर्ता बोलाइएको थियो ।
त्यसबेला उनीहरूको ठाउँमा पम्प प्रमुखका रूपमा सशस्त्र प्रहरी निरीक्षक वैकुण्ठ घिमिरेलाई र एकाउन्टको जिम्मेवारी टेकराज लम्सालबाट खोसेर सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण पौडेललाई दिइएको थियो ।
घिमिरे तिनै सशस्त्र प्रहरी निरीक्षक हुन् जो केही दिनअघि मात्रै मुस्ताङको कोरला नाकाबाट अवैध रूपमा २ वटा ट्रकमा भित्रिएको भेपको विषयमा मुछिएका थिए । भेप प्रकरणमा उनलाई ५ वर्ष बढुवा रोक्का भइसकेको छ ।
यो पनि : डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री
सशस्त्रको कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा ब्रम्हलुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया