काठमाडौं । सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सशस्त्र प्रहरी मुख्यालय हातामै सञ्चालित पेट्रोल पम्पको रकम हिनामिनामा संलग्न दुई अधिकृतले रकम फिर्ता गर्दा अर्का एक जनाले ४५ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ ।
लोकपथ डटकमले गत जेठ १९ गते ‘सशस्त्रको कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा ब्रम्हलुट, तत्कालीन पम्प प्रमुख र लेखा अधिकृतलाई ३५/३५ लाख रुपैयाँ तिर्न दिइएको निर्देशन पनि बेवास्ता’ शीर्षकमा समाचार प्रकाशन गरेकोमा हालसम्म ६० लाख रुपैयाँ भने उठेको छ ।
स्रोतका अनुसार, पम्पका तत्कालीन प्रमुख सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डे र तत्कालीन लेखा अधिकृत सशस्त्र प्रहरी नायव निरीक्षक (सई) भीम चन्दको कार्यकालमा बिक्री वितरण गरिएको र कल्याणकारी कोषको खातामा जम्मा हुन नसकेको डिजेल/पेट्रोलको ७० लाख रुपैयाँमध्ये हालसम्म ६० लाख रुपैयाँ उठेको हो । सशस्त्र प्रहरी निरीक्षक पाण्डेले २५ लाख र तत्कालीन लेखा अधिकृत सशस्त्र प्रहरी नायव निरीक्षक चन्दले ३५ लाख रुपैयाँ बुझाएका हुन् । अब सशस्त्र प्रहरी निरीक्षक पाण्डेले १० लाख रुपैयाँ बुझाउन बाँकी छ ।
लोकपथ डटकममा समाचार प्रकाशन भएपछि सशस्त्र प्रहरीको नयाँ नेतृत्वले उनीहरूलाई बुझाउनुपर्ने रकम तुरुन्त बुझाउन भनेको थियो ।
आफ्नो दायित्वको ३५ लाख रुपैयाँ बुझाएका सई चन्द अहिले भक्तपुरको दुवाकोट गणमा लेखा अधिकृत छन् । केही दिनअघि निकालिएको लेखा अधिकृतहरूको सरुवामा उनको नाम ललितपुरको दक्षिणकाली गणमा लेखा अधिकृतकै रूपमा रहेको छ ।
उता, पेट्रोल पम्पका तत्कालीन प्रमुख सशस्त्र प्रहरी निरीक्षक सिन्धुलीका मोहन देवकोटाले पनि पम्पको ४५ लाख रुपैयाँ बुझाउन बाँकी खुलेको छ । पम्पको यति धेरै रकम हिनामिना गरी मदिरा बिक्री वितरणमा लगानी गरेका देवकोटा तिनै अधिकृत हुन्, जो ग्राहकलाई परिमाणभन्दा कम पेट्रोलियम पदार्थ दिने गर्थे । साथै पेट्रोलमा डिजेल मिसाएर बिक्री गरेको आरोप पनि उनीमाथि लागेको थियो । उनीहरूको यस्तो बदमासी खुलेपछि सशस्त्र प्रहरी निरीक्षक देवकोटा र एकाउन्ट हेर्ने टेकराज लम्साललाई कार्यकाल नसकिँदै फिर्ता बोलाइएको थियो ।
उनीहरूको ठाउँमा पम्प प्रमुखका रूपमा सशस्त्र प्रहरी निरीक्षक वैकुण्ठ घिमिरेलाई र एकाउन्टको जिम्मेवारी टेकराज लम्सालबाट खोसेर सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण पौडेललाई दिइएको थियो ।
घिमिरे तिनै सशस्त्र प्रहरी निरीक्षक हुन् जो केही दिनअघि मात्रै मुस्ताङको कोरला नाकाबाट अवैध रूपमा २ वटा ट्रकमा भित्रिएको भेपको विषयमा मुछिएका थिए । भेप प्रकरणमा उनलाई ५ वर्ष बढुवा रोक्का भइसकेको छ ।
यो पनि…
सशस्त्रको कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल पम्पमा ब्रम्हलुट
डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया