नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’ मार्फत १३ औँ कृति अवार्ड्सको उद्घाटन

लोकपथ
0
Shares

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रममार्फत औपचारिक रूपमा सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा अवार्ड्सको उद्घाटन गरिएको हो ।

कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । कृति अवार्ड्सले नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्दै आएको छ ।

यस वर्षको संस्करण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डको सहकार्य र समर्थनमा आयोजना हुँदैछ ।

त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल यस वर्षदेखि कृति अवार्ड्सका सह–आयोजकका रूपमा सहभागी भएका छन् ।

आयोजकका अनुसार यस वर्ष आनका गैर–सदस्यहरूका लागि समेत अवार्ड्समा मनोनयन खुला गरिएको छ । विभिन्न व्यावसायिक संघसंस्था र सञ्चार क्षेत्रका संस्थाहरूको सहभागिताले कृति अवार्ड्सलाई थप व्यापक र समावेशी बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो–भिजुअल प्रस्तुति समेत गरिएको थियो । आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका प्रवर्द्धक एवं मिडिया एलायन्स नेपालका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए ।

१३औँ कृति अवार्ड्सका शीर्ष प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिवाल तथा विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए । आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

आयोजकका अनुसार कृति अवार्ड्स २०८३ अन्तर्गत नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा उत्कृष्ट सिर्जना र योगदानलाई सम्मान गर्ने प्रक्रिया अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?