काठमाडौं । नेपाललाई अस्ट्रेलियाले विपद् व्यवस्थापन तथा राहतका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा भएको भेटवार्तामा वङले उक्त सहयोगको घोषणा गरेकी हुन् ।
भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा नेपालमा हालै आएको बाढी र त्यसबाट भएको क्षतिबारे पनि छलफल भएको थियो । विदेशमन्त्री वङले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
अस्ट्रेलियाले यसअघि आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । अहिले घोषणा गरिएको १५ मिलियन डलर उक्त रकमभन्दा अतिरिक्त हो ।
नयाँ सहयोग बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन, प्रभावित समुदायलाई सामान्य अवस्थामा फर्काउन तथा पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिने जनाइएको छ ।
भेटमा मन्त्री खनालले विपद्का समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली नागरिकबाट नेपालले पाएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले संकटका बेला प्राप्त मानवीय सहयोगले दुई देशबीचको मित्रता र आपसी विश्वास थप बलियो बनाएको बताए ।
दुवै मन्त्रीले आगामी दिनमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै साझा हितका विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया