काठमाडौं । सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सशस्त्र मुख्यालय हातामै सञ्चालित पेट्रोल पम्पको ७० लाख रुपैयाँभन्दा बढी रकम कसरी उठाउने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
पम्पका तत्कालीन प्रमुख सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डे र तत्कालीन लेखा अधिकृत सशस्त्र प्रहरी नायव निरीक्षक (सई) भीम चन्दको कार्यकालमा बिक्री वितरण गरिएको डिजेल/पेट्रोलको ७० लाख रुपैयाँभन्दा बढी रकम दुई वर्ष बितिसक्दा पनि उठ्न सकेको छैन । यति ठूलो परिमाणको रकम उठ्ने/नउठ्ने पनि कुनै ठेगान छैन ।
स्रोतका अनुसार, पम्पका नियमित ग्राहक (पार्टी) लाई बिक्री वितरण गरिएको डिजेल/पेट्रोलको रकम नउठेको हो । नियमित ग्राहकमध्येका एक जना अहिले जेलमा रहेकाले पनि सशस्त्रलाई यति ठूलो रकम उठाउन समस्या परेको हो ।
सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित सो पेट्रोल पम्पले अग्रिम धरौटी रकम लिएर आफ्ना नियमित ग्राहकलाई पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गर्छ । धरौटी रुकम सकिएपछि नियमित ग्राहकलाई पेट्रोलियम पदार्थ दिन पम्प बाध्यकारी हुँदैन । तर, तत्कालीन पम्प प्रमुख सशस्त्र प्रहरी निरीक्षक पाण्डे र तत्कालीन लेखा प्रमुख सई चन्दले किन यति धेरै रकमबराबरको पेट्रोलियम पदार्थ ‘उधारो’ मा दिए भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
उधारोमा दिइएको पेट्रोलियम पदार्थको यति धेरै रकम नउठेपछि निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि ‘चासो’ देखाएका थिए । तर सो ‘चासो’ नाम मात्रको भएको समाचार स्रोतको दाबी छ ।
पम्पका तत्कालीन प्रमुख र लेखा अधिकृतको कार्यकालमा नउठेको ४/५ लाख रुपैयाँबराबरको रकम उनीहरूबाटै उठाउन ‘दबाब’ दिने गरेका तत्कालीन महानिरीक्षक अर्यालले आफ्नै कार्यकालमा दुई/दुई वर्षसम्म पनि पाण्डे र चन्दबाट रकम उठाउन किन गम्भीर पहल गरेनन् भन्ने प्रश्न पनि अहिले उठेको छ ।
स्रोतका अनुसार, पेट्रोलियम पदार्थको ७० लाख रुपैयाँ नउठ्ने करिब करिब निश्चित भएपछि निवर्तमान महानिरीक्षक अर्यालले तत्कालीन पम्प प्रमुख पाण्डे र तत्कालीन लेखा प्रमुख चन्दलाई बोलाएर ३५/३५ लाख रुपैयाँ दायित्व बेहोर्न पनि भनेका थिए । तर उनीहरूले हालसम्म पनि दायित्व बेहोरी रकम राफसाफ गरेका छैनन् ।
तत्कालीन पम्प प्रमुख पाण्डे नुवाकोट र तत्कालीन लेखा प्रमुख चन्द कैलालीका स्थायी बासिन्दा पनि हुन् । चन्द त्यसअघि पनि पम्पको लेखा अधिकृत भएर बसेका थिए । त्यसपछि उनी शान्ति मिसनअन्तर्गत सुडान गएका थिए । सुडानमा एक वर्ष बसेर फर्केको केही समयपछि उनलाई फेरि पम्पको लेखा अधिकृतको जिम्मेवारी दिइएको थियो ।
पम्पको यति धेरै रकम नउठ्नुको नैतिक जिम्मेवारी सशस्त्र प्रहरी कल्याणकारी कोषका एसपी राजकुमार लामिछानेले पनि लिनुपर्ने हुन्छ । नुवाकोटका उनी अहिले पनि सशस्त्र प्रहरी कल्याणकारी कोषको प्रमुख नै छन् ।
स्मरणीय छ, सशस्त्र प्रहरीको कल्याणकारी कोषमा जवानहरुको गाँस काटेर रकम जम्मा गर्ने गरिन्छ । त्यही कोषको रकममा यतिसम्मको बेथितिलाई के भन्ने ?
यो पनि डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया