नेपाली सेना र डीडीसीबीच सम्झौता, ३२ जिल्लाका ब्यारेकमा दैनिक १० हजार लिटरभन्दा बढी दूध आपूर्ति हुने

लोकपथ
0
Shares

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ आपूर्तिसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार डीडीसीले नेपाली सेनाका ३२ जिल्लामा रहेका ब्यारेकमा नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ आपूर्ति गर्नेछ ।

सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुनेछ । यो वार्षिक रूपमा ३७ लाख ४१ हजार ५६५ लिटर हुन्छ ।

त्यस्तै, दैनिक ३६५ किलो दही, ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिज आपूर्ति गरिनेछ । वार्षिक रूपमा १ लाख ३३ हजार ५२२ किलो दही, १३ हजार २४० किलो पनिर, ७ हजार ४४१ किलो होल मिल्क पाउडर र ५ हजार २७८ किलो चिज आपूर्ति हुनेछ ।

राजधानीमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डीडीसीका महाप्रबन्धक डा। शरणकुमार पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि डीडीसीका उत्पादनले ठूलो बजार पाउने भएको छ । यसबाट दुग्ध किसानलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपाली सेनाले स्वदेशमै उत्पादन भएका दूध तथा दुग्धजन्य पदार्थ प्रयोग गर्ने अवसर पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?