विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेताको जिम्मेवारी, ओलीले गराए शपथ

लोकपथ
77
Shares

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको छ ।

एमालेको स्थायी कमिटी बैठकका क्रममा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहणसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन् । उनलाई अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपति पदमा रहँदा भण्डारी दलीय राजनीतिबाट अलग रहेकी थिइन् । राष्ट्रपति पदको कार्यकाल सकिएपछि उनको आगामी राजनीतिक भूमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो ।

एमालेले वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै भण्डारी अब पार्टीका उच्च तहका गतिविधिमा सक्रिय हुने भएकी छन् । उनले पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी लगायतका बैठकमा सहभागी हुने अधिकार पाएकी छन् ।

भण्डारी यसअघि एमालेकी उपाध्यक्षसमेत रहेकी थिइन् । राष्ट्रपति बन्नुअघि उनी एमालेको सक्रिय राजनीतिमा थिइन् । राष्ट्रपति पदको दुई कार्यकाल पूरा गरेपछि उनी पहिलोपटक औपचारिक रूपमा पार्टीको सक्रिय राजनीतिमा फर्किएकी हुन् ।

भण्डारीलाई एमालेको उच्च तहमा जिम्मेवारी दिइनुलाई पार्टीभित्रको आगामी राजनीतिक तथा सांगठनिक समीकरणका दृष्टिले समेत महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?