अर्थमन्त्री वाग्ले भन्छन् – ‘पुँजीबजार विकासमा उच्च नैतिकता र प्रभावकारी नियमन आवश्यक छ’

लोकपथ
7
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको निरीक्षणका क्रममा मन्त्री वाग्लेले बोर्ड नेतृत्वलाई उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

उनले नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न थालेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उल्लेख गर्दै सो अभियानलाई निरन्तरता दिन आग्रह गरे । ‘उच्च नैतिकतासहित पुँजीबजार विकासको कार्य अघि बढाउनुहोस्,‘उनले भने ।

मन्त्री वाग्लेले नेपाल धितोपत्र बोर्डको नियामकीय जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै कुनै दबाब वा विचलनमा नपरी लगानीकर्ताको सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले नयाँ सरकार गठनसँगै सेयर बजारका लगानीकर्ताको अपेक्षा बढेको भन्दै नियामक कानुन तथा नीतिहरू निर्माण गर्दा सबै सरोकारवालासँग पर्याप्त परामर्श गरी साझा समझदारीका आधारमा कार्यान्वयन गर्न निर्देशन दिए । सेयर बजारका सबै हिस्सेदारको माग र सुझावलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

यस अवसरमा अर्थमन्त्री वाग्लेले नेपाललाई एसियाकै दोस्रो उत्कृष्ट र प्रतिस्पर्धी सेयर बजार बनाउने नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको लक्ष्य कार्यान्वयनमा देख्न चाहेको पनि बताए ।

यता, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पुँजीबजार विकासका लागि ब्लुप्रिन्ट तयार गरी कार्यान्वयनमा लगिएको जानकारी दिए । उनले साउनभित्रै प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित आईपीओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिने तथा भदौ महिनामा सरोकारवालासँग परामर्शपछि क्रमशः लागू गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?