काठमाडौं । प्रहरीले गत जेठ महिनामा देशभर भएका सवारी दुर्घटनाको तथ्यांक सार्वजनिक गरेको छ ।
प्रहरीले देशभर भएका सवारी दुर्घटना, त्यसका कारण, कुन सवारी बढी जोखिम, कुन समयमा बढी हुन्छ सवारी दुर्घटना लगायत तथ्यांक सार्वजनिक गरेको हो ।
जेठ एक महिनामा मात्रै ४ हजार ४ सय १६ सवारी दुर्घटनामा परेको प्रहरीको तथ्यांक रहेको छ । जसमध्ये कुल दुर्घटनाको ५५ दशमलव ६४ प्रतिशत मोटरसाइक दुर्घटना भएको पाइएको छ । एक महिनामा २४५७ मोटरसाइकल दुर्घटना भएका हुन् । त्यस्तै बस १९९, जिप कार र माइक्रो गरी ८१०, ट्रक, ट्यांकर र ट्रिपर ३०२, ट्याक्टर १२९, शारीरिक शक्तिले चल्ने सवारी २४२, टेम्पो २२९, डोजर, लोडर र स्काभेटर १२ र सवारी साधन नखुलेका २६ सवारी साधन दुर्घटना भएका हुन् ।
त्यसमध्ये धेरैजसो रातको समयमा हुने गरेको समेत देखिएको छ ।
प्रहरीको तथ्यांक अनुसार विभिन्न ५ कारणले सवारी दुर्घटना बढी हुने गरेको पाइएको छ । जसमध्ये तीव्र गतिबाट धेरै सवारी दुर्घटना हुने गरेको पाइएको जनाइएको छ । तीव्र गतिका कारण १४०३ सवारी दुर्घटनामा परेका हुन् । त्यस्तै मापसे गरेर १७३, बाटो काट्दा १४६, सवारी चालक अनुमतिपत्र नभएको १३८ र ९४ वटा सवारी ओभरटेक गर्दा दुर्घटनामा परेका हुन् ।
एक महिनाको अवधिमा ट्राफिक कारबाहीबाट ९ करोड बढी राजस्व उठेको छ । प्रहरीका अनुसार सो अवधिमा ९ करोड, ४१ लाख, ३० हजार ७ सय ६ रुपैयाँ राजश्व उठेको हो । त्यस्तै सो अवधिमा १ लाख ११ हजार १ सय ९२ वटा सवारीलाई कारबाही गरिएको थियो ।
एक महिनामा सवारी दुर्घटनाको कारण २१५ जनाको मृत्यु, ५८० जना गम्भीर घाइते र ३ हजार ६ सय ६० जना सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया