ग्यासको लाइन हटेन, बुधबारपछि संयुक्त बिक्री बन्द गर्दै उद्योगी, फेरि डिलरकै भरमा उपभोक्ता

लोकपथ
105
Shares

काठमाडौं । चाडपर्वका बेला ग्यासको आपूर्ति सहज बनाउन सुरु गरिएको जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन पाउने व्यवस्था तीन दिनमै बन्द हुने भएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले बुधबारपछि संयुक्त बिक्री बन्द गरेर पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास बिक्री गर्ने जनाएको छ ।

उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर दिएर आफूलाई पायक पर्ने ठाउँबाट ग्यास किन्न सकून् भन्ने उद्देश्यले उद्योगीहरूले असोज २५ गतेदेखि संयुक्त बिक्री सुरु गरेका थिए । सुरुमा ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको यो व्यवस्था सोमबारदेखि १० वटा केन्द्रमा विस्तार गरिएको थियो ।

तर, संघले बुधबारसम्म मात्रै संयुक्त बिक्री सञ्चालन गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबार र शुक्रबार डिलरमार्फत नियमित रूपमा ग्यास बिक्री गर्नुपर्ने भएकाले संयुक्त बिक्रीलाई निरन्तरता दिन नसकिने भएको हो ।

संयुक्त बिक्री बन्द भएपछि उपभोक्ताले अब आफ्नो नजिकको डिलरबाटै ग्यास किन्नुपर्नेछ ।

संयुक्त बिक्री सुरु भए पनि उपभोक्ताको समस्या भने समाधान हुन सकेको छैन । १० वटा बिक्री केन्द्रमा ग्यास लिन लामो लाइन लाग्न थालेपछि उपभोक्ताले घण्टौँ कुर्नुपर्ने अवस्था आएको छ । नजिकको डिलरबाट ग्यास नपाउँदा टाढाका बिक्री केन्द्रसम्म पुग्नुपरेको उपभोक्ताको गुनासो छ ।

संघले भने बजारमा ग्यासको अभाव नरहेको दाबी गरेको छ । भारतका विभिन्न रिफाइनरीबाट नेपाल आयल निगममार्फत ग्यासको आयात सहज भइरहेको संघको भनाइ छ ।

संघका अनुसार २०८३ साल भदौ महिनामा मात्रै काठमाडौं उपत्यकामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री भएको थियो ।

ग्यासको आयात सहज रहेको र बजारमा अभाव नरहेको दाबी गरिए पनि चाडपर्वका बेला उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । यस्तो अवस्थामा संयुक्त बिक्री बन्द गरेर पुरानै वितरण प्रणालीमा फर्किँदा उपभोक्ताको समस्या समाधान हुन्छ वा डिलरमा फेरि भीड बढ्छ भन्ने प्रश्न उठेको छ ।

उद्योगीहरूले भने उपभोक्तालाई आफ्नो नजिकको डिलरबाटै ग्यास खरिद गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?