काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।
शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए ।
उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए । पालिका र वडा-वडा स्तरबाट लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्ने गरी अभियान चलाउन आग्रह गरे । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे ।
गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मूल कारण लागुऔषध रहेको बताए । अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्याउन जरुरी रहेको उनको भनाइ छ । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया