काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथों जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म ज्वेलरी फेशन शो आयोजना गरिने संघले जानकारी दिएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।
ज्वेलरी फेशन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने संघले जनाएको छ ।
होटल याक एन्ड यतिमा बिहिबार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ्ग गर्न लागेका हुन् । निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रबार होटल याक एन्ड यतिमा १२ः ३० मा हुने तय भएको छ । एक्स्पो बिहान १० देखि सांझ ७ बजे सम्म चालु रहने छ ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालु पुँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा व्याजदर एकलविन्दुमा झारेमा मात्र गरगहनाको लागतमा कम पर्न गइ मुल्य घट्न जाने बताए । १५ लाख जना यो व्यवसायसँग अप्रत्यक्ष रुपमा आश्रित रहेको र २५ हजारवटा आउटलेट रहेको यो व्यवसायले वार्षिक १० अर्बको राजस्व बुझाउँदा पनि अनुत्पादक क्षेत्र भनेकोमा उनले गुनासो गरे ।
स्वदेशी वहुमूल्य धातु तथा रत्न, पत्थरको उत्खनन,प्रशोधन र उपयोग गरी आयातलाई यथाशक्य प्रतिस्थापन गर्ने, आयातित वस्तुलाई औद्योगिक कच्चा पदार्थको रुपमा मुलुक भरका आभुुपण व्यवसायीहरुले सहजरुपमा आवश्यकतानुसार उपयोग गर्न सक्ने अवस्थाको सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा बढी भन्दा बढी मूल्य अभिवृद्धि गर्ने र नेपाली मौलिक वहुमूल्य आभुषणको निकासीलाई प्रवद्र्धन गरी वैदेशिक व्यापारमा यस क्षेत्रको योगदानलाई थप विस्तार गर्ने लक्ष्यका साथ आफ्ना गतिविधिहरुलाई संघले केन्द्रित गरिरहेको संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया