विनिता खड्का पक्राउबारे गगनले भने– ‘व्यक्तिगत कारणले म पक्राउ परे पनि कोही बचाउन नआउनू’

लोकपथ
280
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिको व्यक्तिगत कारणले लागेको आरोपको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताएका छन् ।

उनले व्यक्तिगत विषयमा लागेका आरोपको बचाउ गर्न पार्टी अघि नसर्ने स्पष्ट पारेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्ने क्रममा थापाले कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी विनिता खड्का ठगी आरोपमा पक्राउ परेको विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले कुनै पनि व्यक्तिमाथि लागेको आरोपको खण्डन उसैले गर्नुपर्ने बताए । आरोप लागेमा त्यसलाई सफाइ दिने र आफ्नो दाग मेटाउने जिम्मेवारी पनि सम्बन्धित व्यक्तिकै हुने उनको भनाइ छ ।

थापाले राजनीतिभन्दा बाहिरका आर्थिक वा पारिवारिक विषयमा आफूमाथि आरोप लागे पनि त्यसको जिम्मेवारी आफूले नै लिने बताए । व्यक्तिगत विषयमा सभापतिमाथि आरोप लाग्दैमा पार्टीका नेता तथा कार्यकर्ता बचाउमा उत्रिन आवश्यक नरहेको उनले स्पष्ट पारे ।

‘व्यक्तिगत कारणले मलाई नै पक्राउ गरियो भने पनि कोही नआउनुहोला,’ उनले भने ।

व्यक्तिगत विषयलाई राजनीतिक दलले बोक्न नहुनेमा जोड दिँदै थापाले कांग्रेस सभापतिको हैसियतमा आफूले यो कुरा स्पष्ट पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?