म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको शरदयामको आरोहण फेरि सुरु भएको छ । भारी हिमपात र खराब मौसमका कारण आधार शिविरबाट फर्किएका पर्वतारोही अहिले पुनः चुचुरोतर्फ अघि बढेका छन् ।
८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल विश्वको सातौँ अग्लो हिमाल हो । यो म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्छ ।
सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंका अनुसार डोरी टाँग्ने टोली क्याम्प दुईभन्दा करिब ४०० मिटर माथि पुगेको छ। मौसम खराब भएपछि कम्पनीका नेपाली र विदेशी गरी १४ जनालाई हेलिकप्टरबाट उद्धार गरी असोज ८ गते पोखरा ल्याइएको थियो ।
मौसममा सुधार आएपछि अक्टोबर १ मा पोखराबाट गएको टोली आधार शिविर हुँदै चुचुरोतर्फ अघि बढेको गुरागाईंले बताए ।
असोज ८ देखि ११ गतेसम्म लगातार वर्षा र भारी हिमपात भएपछि धवलागिरिको आधार शिविर हिउँले पुरिएको थियो । त्यसपछि पर्वतारोहीले आरोहण स्थगित गरेका थिए ।
मौसम सुध्रिएपछि आधार शिविरमा रहेको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेको टोली प्रमुख लाक्पा शेर्पाले बताएका छन् ।
उनका अनुसार अहिले हिउँ कडा र स्थिर भएकाले हिँडडुल गर्न सहज भएको छ। भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि पहिलेको तुलनामा कम भएको छ ।
पर्यटन विभागका अनुसार यस शरदयाममा धवलागिरि आरोहणका लागि चार समूहका ३६ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा २६ पुरुष र १० महिला छन् । उनीहरूबाट आरोहण अनुमतिबापत ८२ लाख ४२ हजार ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
म्याग्दीको दाना क्षेत्रका व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार अन्य कम्पनीका पर्वतारोही टोली पनि धवलागिरिको आधार शिविर पुगिसकेका छन् ।
गत वसन्तयाममा धवलागिरि आरोहणका लागि दुई समूहका १७ जनाले अनुमति लिएका थिए। तीमध्ये आठ जना महिला थिए । मौसम छिनछिनमै परिवर्तन हुने भएकाले धवलागिरि आरोहण कठिन र जोखिमपूर्ण मानिन्छ ।
सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्विस–अस्ट्रियाली टोलीले पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेको थियो । त्यसयता ६६ वर्षमा ७३३ जना पर्वतारोहीले यसको शिखर चढिसकेको विवरण छ ।
धवलागिरि क्षेत्रमा हिमाल आरोहणसँगै ‘राउन्ड धवलागिरि’ पदयात्रा पनि लोकप्रिय छ । म्याग्दीको बगरबाट सुरु हुने यो पदयात्रा विभिन्न आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर सकिन्छ। यो पदयात्रा पूरा गर्न करिब नौ दिन लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया