काठमाडौं । विश्वभर पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि सवारी साधन प्रयोगकर्ताको आकर्षण वैकल्पिक ऊर्जातर्फ बढ्न थालेको छ ।
पारम्परिक इन्धनबाट चल्ने सवारी साधन सञ्चालन खर्चिलो बन्दै गएपछि विशेषगरी युरोपेली देशमा विद्युतीय कार (इभी) तथा वातावरणमैत्री सवारी साधनको माग बढ्दै गएको हो ।
जलवायु परिवर्तनप्रति बढ्दो विश्वव्यापी सचेतना तथा सरकारले पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनमा लगाउँदै आएका विभिन्न प्रतिबन्ध र कानुनी व्यवस्थाले पनि विद्युतीय सवारी साधनको प्रयोग बढाउन सहयोग गरिरहेको छ ।
बेलायतमा नयाँ कार बिक्री ७ वर्षयताकै उच्च
यसैबीच बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ । बेलायतमा नयाँ कारको दर्ता लगातार १० महिनादेखि बढिरहेको छ । सेप्टेम्बरमा भएको बिक्री सन् २०१७ यताकै उच्च रहेको बताइएको छ ।
सेप्टेम्बरमा बेलायतमा ३ लाख ५० हजार ५३६ वटा नयाँ कार दर्ता भएका छन् । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२ प्रतिशत बढी हो ।
बजार विस्तारमा विद्युतीय तथा अन्य विद्युतीकृत कारको बिक्रीले महत्वपूर्ण भूमिका खेलेको छ । यस्ता कारले कुल नयाँ कार दर्ताको ५८.४ प्रतिशत हिस्सा ओगटेका छन् ।
सेप्टेम्बरमा प्लग–इन हाइब्रिड कारको दर्ता ५५.५ प्रतिशतले बढेको छ। त्यस्तै, ब्याट्रीबाट चल्ने विद्युतीय कारको बिक्री ३६।३ प्रतिशतले बढेर ९९ हजार २०१ पुगेको छ ।
बेलायतमा अहिले विद्युतीय कारका १७८ वटा मोडल बिक्रीका लागि उपलब्ध छन् । सन् २०२३ यता विद्युतीय कारका विकल्प दोब्बरभन्दा बढी भएका छन् ।
बढ्दो मोडल तथा विकल्प, पेट्रोलियम पदार्थको महँगो मूल्य र वातावरणीय सचेतनाका कारण बेलायतमा उपभोक्ताहरू विद्युतीय कारतर्फ आकर्षित भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया