काठमाडौं । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य सेवा विभागमार्फत महानगर प्रहरी बलले यात्रुका लागि स्वास्थ्य जाँचको व्यवस्था गरेको हो ।
महानगर प्रहरी बल नयाँ बसपार्कका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितका अनुसार स्वास्थ्य परीक्षण कक्षबाट यात्रुको रक्तचाप र मधुमेह जाँच गरिनुका साथै झाडापखालाको औषधिसमेत वितरण भइरहेको छ । महानगरपालिकाले उक्त सेवा दसैँभरि सञ्चालन गर्ने जनाएको छ ।
चाडपर्वका बेला नयाँ बसपार्कमा यात्रुको चाप बढ्ने भएकाले भीडभाड व्यवस्थापनका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । प्रहरीले यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्न सहजीकरण गर्नेछ ।
नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार केही दिनयता दसैँ मनाउन काठमाडौं छाड्ने यात्रुको सङ्ख्या बढेको छ।
सामान्य अवस्थामा दैनिक पाँचदेखि छ हजार यात्रु काठमाडौं बाहिरिने गरेकामा अहिले उक्त सङ्ख्या बढेर तेब्बरसम्म पुगेको मल्लले बताए । चाडपर्वका बेला यात्रुको चाप बढेसँगै नयाँ बसपार्कमा स्वास्थ्य परीक्षण र भीड व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया