आज ‘एफए’ कप फाइनल, चेल्सी र लेस्टर भिड्दै

काठमाडौं।  ‘एफए’ कपको फाइनल खेलमा आज (शनिवार) चेल्सी र लेस्टर सिटी प्रतिस्पर्धा गर्दै छन्।

लन्डनको ‘वेम्ब्ले’ मैदानमा आजको फाइनल खेल नेपाली समय अनुसार राति १०:०० बजे शुरु हुनेछ।

आजको फाइनल खेलमा दुवै टोली आफ्ना समर्थकको अगाडि फुटबल खेल्न उत्साहित हुनेछन्। आजको खेल २१,००० दर्शकमाझ खेलिने छ। कोरोना भाइरसको महामारी पछि पहिलो पटक यति धेरै दर्शकलाई एकै पटक मैदान प्रवेश अनुमति दिइएको हो।

सो खेलमा लेस्टर आफ्नो पहिलो ‘एफए’ कप उपाधि उचाल्ने दाउमा रहनेछ। अहिलेसम्म लेस्टरले ४ ‘एफए’ कप फाइनल खेलेको छ जसमा लेस्टरको पक्षमा कुनै पनि नतिजा आएको छैन। यसपालि भने लेस्टर इतिहास रच्न चाहन्छ। लेस्टरले सेमीफाइनलमा साउथह्याम्पटनलाई १-० गोलले पराजित गरेको थियो।

उता चेल्सी भने ‘एफए’ कपको बादशाह नै हो। चेल्सीले ८ पटक यो उपाधि जितेको छ। पछिल्लो पटक सन् २०१८ मा यो उपाधि उचालेको चेल्सी गत वर्ष भने आर्सनलसँग फाइनल खेलमा पराजित भएको थियो। म्यानचेस्टर सिटीलाई सेमीफाइनलमा १-० गोलले पराजित गरेको चेल्सीले आजको फाइनल खेल जित्न आफ्नो सत् प्रतिशत दिनेछ।

 

च्याम्पियन्स लिग फाइनलमा पनि अन्तिम दुईमा स्थान पक्का गरेको चेल्सी आजको फाइनल खेल जितेर मनोबल बढाउने उद्देश्यका साथ मैदान प्रवेश गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?