काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेललाई धन्यवाद दिएका छन् ।
कप्तान नियुक्त भएपछि सामाजिक सञ्जाल फेसबुकमा पहिलो पोस्ट गर्दै सन्दीपले रोहितले टोलीका लागि गरेको योगदानको प्रशंसा गरेका हुन् ।
सन्दीपले रोहितलाई सम्बोधन गर्दै टोलीलाई विभिन्न परिस्थितिमा नेतृत्व गरेकोमा धन्यवाद दिएका छन् । उनले रोहितको टोलीप्रतिको योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुने बताएका छन् ।
उनले नेपाली टोली र देशका लागि रोहितको अझै धेरै योगदान बाँकी रहेको विश्वास व्यक्त गरेका छन् ।
सन्दीपले लेखेका छन्, ‘धन्यवाद रोहित भाइ, यो टोलीका लागि तिमीले गरेका सबै कामका लागि र हरेक परिस्थितिमा हामीलाई जसरी नेतृत्व गर्यौ, त्यसका लागि । टोलीप्रतिको तिम्रो योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुनेछ । मलाई विश्वास छ, यो टोली र देशका लागि तिम्रो अझ धेरै योगदान आउन बाँकी नै छ ।’
नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय टोलीको कप्तानबाट रोहितलाई हटाएर सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो । यसअघि रोहितको टी–२० टोलीको कप्तानी पनि खोसिएको थियो ।
अब रोहितले नेपाली टोलीमा प्रमुख ब्याट्सम्यानका रूपमा भूमिका निर्वाह गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया