स्पष्टीकरण दिन अटेर गरेपछि जनमोर्चाले थापालाई हटायो दलको नेताबाट

काठमाडौं । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।

पार्टीको निर्देशन विपरित काम गरेको र सोधिएको स्पष्टीकरण समेत नदिएको भन्दै उनलाई दलको नेताबाट हटाइएको जनमोर्चाले जनाएको छ ।

गण्डकीमा गठबन्धन सरकार निर्माणका लागि कांग्रेस, माओवादी र जसपालाई पार्टीले समर्थन गर्ने निर्णय भएको थियो । तर थापाले सरकार गठनमा असहयोग गरेको भन्दै उनलाई दलको नेताबाट हटाइएको हो ।

जनमोर्चाले आज एक प्रदेश सभा सचिवालयलाई एक पत्र लेख्दै त्यसबारे जानकारी गराएको छ ।

“आज मिति २०७८ वैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवश्यक कारबाही किन नगर्ने ? सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो । उहाँले अटेर स्पष्टीकरण नबुझाउनु भएकोले आजै बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको जूम बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सो को विवरण सचेतक मार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।” संसद सचिवालयलाई जनमोर्चाले लेखेको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?