काठमाडौं । गत वैशाख २८ गतेबाट सुरु भएको संसदको बजेट अधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को तीव्र खोजी भइरहेको छ ।
आफ्नो तर्फबाट सदनमा प्रस्तुत गर्नुपर्ने विधेयकहरु मन्त्रीमार्फत् टेबुल गर्न लगाएर प्रधानमन्त्री संसदमा निरन्तर गयल छन् । संसदको संयुक्त सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदबाट बाहिरिएपछि चर्को आचोचना खेपेका प्रधानमन्त्री बालेन त्यसयताका बैठकमा उपस्थित छैनन् । आइहाले पनि केहीबेर बसेर सिंहदरबारकै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगिहाल्छन् ।
प्रधानमन्त्री बालेन संसदमा नआएकै कारण दिनहुँ जसो संसदमा विरोध र नाराबाजी भइरहेका छन् । बिहीबारको बैठकमा विपक्षी दलहरुले विरोध गरिरहे, सभामुख डीपी अर्यालले पेलेरै सदन चलाए । बिहीबार दिउँसो विपक्षीहरुले विरोध जनाएपछि संसद बैठक १५ मिनेट रोकेर सभामुख अर्याल प्रधानमन्त्री भेट्न पुगे । तर प्रधानमन्त्री बालेनले आफू उचित समयमा सदन आउने बताउँदै फर्काए । त्यसपछि सदन सुचारु गरेका सभामुखले पेलेरै सदन चलाए, विभिन्न विधेयकहरु विपक्षीको विरोधकैबिच पारित भयो ।
सदनमा विपक्षीहरुको विरोध चलिरहेका बेला संसदको सबैभन्दा ठूलो सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आए, केहीबेर बसेर निस्किए ।
पछिल्ला दिनहरुमा बालेन सदन नआउँदा रास्वपामाथि नै प्रश्न उठिरहेको छ । त्यसो त कतिपय निर्णयहरुमा बालेनले आफ्नो अडान कायम राख्दा रास्वपाभित्र केही खटपट हुन थाल्यो कि भन्ने आशंका समेत उत्पन्न हुन थालेको छ ।
कतै रवि बालेनको दबाबमा त परेका छैनन् ? यी प्रश्न समेत उठिरहँदा रविले भने आफू कुनै दबाबमा नभएको र दबाबमा बस्ने मान्छे समेत नभएको दाबी गरे ।
संसद भवन परिसरबाट बाहिरिने क्रममा रविमाथि पत्रकारको प्रश्न आउँछ, ‘सभापतिज्यू हजुर त दुई दुईपटक गृहमन्त्री भइसक्नुभएको मान्छे, प्रधानमन्त्री संसद नआउँदा तपाईँमाथि दबाब बढेको हो ?’
रविले जवाफ दिँदै भने, ‘छैन, छैन । म त्यस्तो दबाबमा बस्ने मान्छे पनि होइन, मलाई कुनै पनि कुराको दबाब छैन । कहिलेकाँही कुनै कुरा प्रक्रियागत रुपमा हुँदै जाने कुराहरु हुन्छन् । अभ्यासहरु हुँदै जाने कुराहरु हुन्छन् । काम महत्वपूर्ण कुरा हो । रिजल्ट महत्वपूर्ण कुरा हो । तपाईँहले सोध्नुभएको प्रश्नमा सरकारले यो काम खराब गर्यो, सरकारले यो काम गरेन भन्ने प्रश्नहरु आइदियो भने मात्रै त्यो मेरो लागि दबाबको विषय हुन्छ । सरकारले आफ्नो काम गरिरहेको छ । कामको रिजल्ट आउँदैछ । सय दिन भन्दा कम समय छ, त्यसकारणले मिडियाको स्पेस पनि हामी सत्तापक्षलाई होइन तपाईँहरुको महत्वपूर्ण समयहरु प्रतिपक्षलाई दिनुभयो भने अझ बढी हुन्छ, हामी त १०० दिनसम्मको समयमा काममा बढी फोकस छौँ ।’
पुनः बालेन संसद नआएको विषयमा पत्रकारले अर्को प्रश्न सोधे ।
‘सभामुखले बोलाउँदा समेत प्रधानमन्त्री आउनुभएन’ भन्ने सञ्चारकर्मीको प्रश्नमा रविले भने– ‘आउनुहुन्छ, थाहा पाइहाल्नुहुन्छ नि । थाहा पाएको कुरा किन सोध्नुहुन्छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया