राप्रपा र राप्रपा नेपालको एकीकरण अलपत्र, कमल थापाले गुहारे लिङ्देन

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बिचको एकता प्रक्रिया अपलत्र परेको छ ।

०८२ साल पुस १६ गते राप्रपा र राप्रपा नेपालबिच एकीकरण भएको थियो । तर दुवै पक्षबिच स्थानीय तह र केन्द्रीय तहमा समायोजन हुन नसकेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । उनले त्यसबारे पहलकदमी लिन आग्रह गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका हुन् ।

‘देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत २०८२ पौष १६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकीकरण भएको हो । तर, एकीकरण भएको पाँच महिना बित्न लाग्दा समेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ सङ्गठनहरूको एकीकरण पनि अझै अलपत्र छ,’ सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्, ‘यहाँसम्म कि निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्र समेत पठाउन सकिएको छैन । यसले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको छ । बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने कार्य अधुरै छ ।’

त्यस्तै थापाले वर्तमान राजनीतिक परिस्थितिमा राजतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने अवस्था आएको भन्दै एकता प्रक्रिया अघि बढाउन भनेका हुन् ।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन टड्कारो बन्दै गएको छ । यो वास्तविकतालाई दृष्टिगत गर्दै, दुई पार्टी एकता गर्दा तय गरिएको अवधारणापत्र अनुसार अविलम्ब सबै तहमा समायोजन कार्य सम्पन्न गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व समक्ष हार्दिक ध्यानाकर्षण गराउँदछु,’ थापाले भनेका छन् ।

त्यसो त ०७८ सालमा भएको राप्रपाको महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि लिङ्देनसँग पराजित भएका थापाले पार्टी नै परित्याग गरेका थिए । उनले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह नै लागेको आरोप लगाउँदै केही समयमा राप्रपा नेपाल गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?