काठमाडौं । अभिनेता राजेश हमालले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताएका छन् ।
चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ को विशेष समारोहमा बोल्दै उनले दुवै क्षेत्रको सम्बन्ध गहिरो र अपरिहार्य रहेको उल्लेख गरे ।
समारोहलाई सम्बोधन गर्दै अभिनेता हमालले चलचित्र पत्रकारिताको सुरुवाती दिनहरूको स्मरण गरे । उनले आफ्नो जीवनको पहिलो अन्तर्वार्ताको प्रसङ्ग जोड्दै भने, ‘मैले पहिलो चलचित्र गर्दा एक स्थापित पत्रकारले मलाई ‘काम चाहिँ के गर्नुहुन्छ ? भनेर सोध्नुभएको थियो । त्यस समयमा चलचित्र क्षेत्रलाई पेसाका रूपमा नभई केवल सौख पूरा गर्ने माध्यमका रूपमा मात्र हेरिन्थ्यो ।’ तर, समयक्रमसँगै चलचित्र क्षेत्र र पत्रकारिता दुवैले ठुलो फड्को मारिसकेको उनको भनाइ छ ।
हमालले वर्तमान समयको ‘क्लिक कल्चर’ र प्रविधिले निम्त्याएका चुनौतीप्रति चिन्ता व्यक्त गरे । सूचनाको बाढी आएको वर्तमान अवस्थामा पाठकको ध्यान आकर्षण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताए ।
उनले भने, ‘आज हामी यस्तो मोडमा छौँ जहाँ गहन पत्रकारितामा सम्झौता गर्नुपर्ने स्थिति आएको छ। एल्गोरिदम र भाइरल हुने होडबाजीले गर्दा विषयवस्तुको गम्भीरता हराउँदै गएको छ ।’
आर्टिफिसियल इन्टेलिजेन्स र भ्रामक सूचनाका कारण सत्य र असत्य छुट्याउन कठिन भइरहेको तर्फ सङ्केत गर्दै उनले पत्रकारहरूलाई एक गम्भीर प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया