संसदमा बालेनको तीव्र खोजी, १५ मिनेटका लागि स्थगित बैठक अझै सुरु भएन

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसद बैठकमा नियमित अनुपस्थित हुन थालेपछि सांसदहरुले विरोध जनाइरहेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा समेत बालेन अनुपस्थित नै रहे । बालेनको सट्टा अन्य मन्त्रीहरुले विधेयक पेस गरेको भन्दै सांसदहरु असन्तुष्ट बने ।

आजको बैठकमा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सभामुख डीपी अर्यालले कानुनमन्त्री सोविता गौतमलाई समय दिए । प्रधानमन्त्री बालेनको तर्फबाट कानुनमन्त्रीलाई समय दिएपछि विपक्षी दलहरुले विरोध जनाए । केहीबेर सभामुख र विपक्षी दलका सांसदहरुबिच नोकझोक चलेपछि १५ मिनेटका लागि बैठक स्थगित गरियो, तर बैठक अझैसम्म सुरु हुन सकेको छैन ।

सभामुख अर्यालले २ः४० को हाराहारीमा बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराएका थिए । तर यो समाचार तयार पार्दासम्म (४ः १२) बैठक सुरु हुन सकेको छैन ।

त्यसो त विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि छलफल चलिरहेको छ । तर सांसदहरुले उठाएको प्रश्नमा उत्तर दिन सम्बन्धित मन्त्रीहरु उपस्थित नभएको भन्दै यसअघि केहीपटक बैठक नै स्थगित गरिनुपरेको थियो । सांसदहरुले निरन्तर बैठकमा प्रधानमन्त्रीको खोजी गरे पनि बालेन अनुपस्थित हुँदा संसदमा प्रश्न उठिरहेको छ ।

बैठक स्थगित गरेर अहिले सभामुख अर्याल विपक्षी दलका सांसदहरुसँग छलफल गरिरहेका छन् । तर विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री उपस्थित नभइ नमान्ने अडान कायम राखेपछि भने संसद बैठक अनिश्चित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?