काठमाडौं । उडानका क्रममा क्याबिन क्रुको असावधानीले तातो कफी पोखिएर जलन भएकी एक महिलालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति भराउन उपभोक्ता अदालतले आदेश दिएको छ । कतारवेजको उडानमा रहेकी ललितपुरकी प्रिति थापालाई तातो कफीले पोलेपछि दायर मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो ।
उपभोक्ता अदालत, काठमाडौंले बिहीबार कतार एयरवेजविरुद्ध दायर मुद्दामा पीडितको पक्षमा फैसला सुनाउँदै कतार एयरवेजबाट क्षतिपूर्ति भराउने फैसला सुनाइएको हो । प्रिति थापाले कुल २० लाख अमेरिकी डलर अर्थात् तत्कालीन समयको विनिमय दर अनुसार २७ करोड ४१ लाख ७७ हजार ४४८ रुपैयाँको क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा फैसला सुनाउँदै काठमाडौंस्थित उपभोक्ता अदालतले मोन्ट्रियल महासन्धिको धारा २१ को १ को दायित्व अनुसार २ करोड ४१ लाख ९२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐन अनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ गरी क्षतिपूर्ति पीडितले पाउने गरी फैसला सुनाएको हो ।
उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले यो फैसला सुनाएको हो ।
भएको के थियो ?
सन् २०२३ को जुलाई १० मा बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा कतार एयरवेजको क्युआर ७४४ विमानभित्र चालक दलका सदस्यले दिएको तातो कफी पोखिँदा पेट, तिघ्रा तथा संवेदनशील अंगहरुमा कफी पोखिएर जलन भएको थियो ।
बोस्टनबाट दोहा आउँदै गर्दा विमानभित्रै भएको उक्त दुर्घटनापछि कतारमा अवतरण हुँदा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक कक्षमै लगेर उपचार गराउनुपरेको थियो । त्यहाँ उपचारका क्रममा पीडितलाई सेकेन्ड डिग्री बर्न अर्थात् दोस्रो तहको जलन भएको रिपोर्ट दिएको थियो । त्यसपछि त्यहाँ प्राथमिक उपचार गराएर काठमाडौं उत्रिएलगत्तै उपचार गराउन सल्लाह दिइएको थियो ।
त्यसपछि २०८० असार २७ गते पीडित प्रिति थापा नेपाल ओर्लिएलगत्तै उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा लगी उपचार गराइएको थियो ।

त्यसपछि पीडित र कतार एयरवेजबिच क्षतिपूर्तिका सम्बन्धमा कुराकानी समेत भएको थियो । तर अन्तिम समयमा कतार एयरवेजले क्षतिपूर्ति दिन अस्वीकार गर्दै पीडितकै कारण दुर्घटना भएकाले क्षतिपूर्ति भराउन बाध्य नहुने भन्ने जवाफ दिएको थियो । अनि पीडित प्रिति थापा उपभोक्ता अदालतमा पुगेकी थिइन् ।
पीडित प्रिति थापाका पक्षबाट मुद्दा लड्ने कानुन व्यवसायीहरुले अदालतमा पेस गरेको बहस नोटमा यो सामान्य असुविधा वा सेवा असन्तुष्टिको विषय होइन, अन्तर्राष्ट्रिय हवाई यात्राको क्रममा भएको शारीरिक चोटको मुद्दा भएकाले मोन्ट्रियल महासन्धि लागू हुने दाबी गरेका थिए । विमानभित्र भएको यस्तो घटना दुर्घटना नै भएको र त्यसबाट शारीरिक चोक वा शारीरिक क्षति भएको भन्दै यसको जिम्मेवार सेवा प्रदायक वा वाहक नै हुनुपर्ने जिकिर लिएको थियो । साथै उक्त दुर्घटनापछि गरिएका उपचार, पीडा, मानसिक कष्ट, दाग, काममा जान नसकेको अवस्था र भविष्यमा पर्ने असरसमेतलाई ध्यानमा राख्दै २० लाख अमेरिकी डलरको क्षतिपूर्ति मागदाबी लिइएको थियो ।

पीडितले आफू अदालतसम्म जानुपर्ने कारणमा कतार एयरवेजले सुरक्षित सेवा दिनुपर्ने आफ्नो दायित्व पूरा नगरेको, सुरक्षित तरिकाले कफी दिनुपर्नेमा अत्यधिक तातो कफी असुरक्षित तरिकाले दिइएको, यात्रुलाई कफी तातो छ भनी चेतावनी नदिएको र उपचार तथा हेरचाहमा पनि पर्याप्त सावधानी नअपनाएको जिकिर लिएकी छिन् । प्रितिको तर्फबाट कानुन व्यवसायीले बुझएको बहसनोटमा उक्त घटना केवल कफी पोखिएको सामान घटना नभई सेवा प्रदायकको लापरवाही, गलत कार्य र चुकसँग जोडिएको दाबी गरिएको छ । सोही आधारमा पीडितले उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सुरक्षित सेवा, क्षतिपूर्ति र उपचार पाउने अधिकार प्रयोग गर्दै मुद्दा अगाडि बढाएकी थिइन् ।
कतार एयरवेजले अस्वीकार गरेको थियो क्षतिपूर्तिको प्रस्ताव
यता कतार एयरवेजले भने पीडितसँगको कुराकानीका क्रममा क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो । साथै अदालतमा बुझाएको लिखित जवाफमा पनि कतार एयरवेजले उक्त घटना पीडितकै कारण भएको भन्दै क्षतिपूर्ति आकर्षित नहुने बताएको थियो ।
कतार एयरवेजको प्रतिउत्तरपत्रमा पीडितले कफी आफूले नै ट्रे टेबलमा राख्ने क्रममा पोखिएको, चालकदलका सदस्यले प्राथमिक उपचार गराएको, ह्वीलचेयरमार्फत् एयरपोर्टको आकस्मिक कक्षसम्म पुराएको भन्दै आफ्नो कर्तव्य पूर्णतः पालना गरेको जनाएको छ । साथै उक्त घटना सामान्य इन फ्लाइट सर्भिसका क्रममा भएको कारण यसलाई दुर्घटना मान्न नमिल्ने बताएको थियो । साथै पीडितकै लापरवाहीका कारण घटना र क्षति भएको कारण उपभोक्ता अदालतको क्षेत्राधिकारमा नपर्ने तथा फिराद नै हदम्याद बाहिर रहेको जिकिर लिएको थियो ।
यद्यपि हदम्याद र क्षेत्राधिकारको विषयमा भने उपभोक्ता अदालत र उच्च अदालतले यसअघि नै क्षेत्राधिकारमा पर्ने र हदम्यादमै रहेको भन्दै आदेश कतार एयरवेजको निवेदन खारेज गरिदिएको थियो ।
तर पीडित प्रिति थापा पक्षले भने कतार एयरवेजकै मेडिकल इन्सिडेन्ट रिपोर्टले नै विमानभित्र कफीले पोलेको घटना भएको, चालकदलका सदस्यलाई जानकारी गराइएको, पोलपछि प्राथमिक उपचारका रुपमा वर्न एड दिइएको, मेड एयर वा मेडलिंक संलग्न भएको र विमानस्थलकै आकस्मिक कक्षमा उपचार गराइएको कारणबाट उक्त विषय सामान्य घटना नभई दुर्घटना नै भएको दाबी गरेको थियो ।
पीडित प्रिति थापाले मोन्ट्रियल महासन्धिअन्तर्गत यस्तो दुर्घटनामा वाहकको दायित्व कडा हुने, महासन्धिको धारा २१ को उपधारा २ अन्तर्गत प्रतिवादीले दायित्व सीमित गर्न नसक्ने जिकिर लिइएको छ । यसको अर्थ विपक्षीले पीडितलाई असीमित क्षतिपूर्ति दिनुपर्ने कुरा उल्लेख छ । पीडितलाई सीमित क्षतिपूर्ति बाहेक अरु नदिन कतार एयरवेजले आफ्ना कर्मचारी वा एजेन्टको लापरवाही थिएन भनेर प्रमाणित गर्न नसकेको कारण यो दायित्व असीमित हुने दाबी लिइएको छ । यस मुद्दामा पीडितले उपचार खर्चसँगै शारीरिक पीडा, मानसिक पीडा, काम र आम्दानीको क्षति, दीर्घकालीन असर र मर्यादामा पुगेको चोटबापत ठूलो क्षतिपूर्ति माग गरेकी थिइन् ।
पीडित पक्षका तर्फबाट बहसमा सहभागी वरिष्ठ अधिवक्ताहरु सज्जनवर सिंह थापा र ज्योति बानिया तथा अधिवक्ताहरु ईश्वर अधिकारी र शाश्वत कँडेलले Air France vs Saks, Olympic Airways vs Husain, Niki Luftfahrt, Wipranik vs Air Canada/Diaz Lugo जस्ता अन्तर्राष्ट्रिय नजिरहरु ल्याउँदै विमानभित्र तातो पेय पदार्थबाट भएको जलनलाई दुर्घटना मान्नुपर्ने तर्क गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया