काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध जनाइरहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई संसदमा उपस्थित गराउनुपर्ने माग राख्दै विपक्षी दलहरुले विरोध जनाए । तर सभामुख डीपी अर्यालले विपक्षी दलहरुको विरोधकाबिच संसदको कामकारबाही अघि बढाएका छन् ।
प्रधानमन्त्री बालेनका तर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन् ।
प्रधानमन्त्री आफू संसदमा उपस्थित नभएर मन्त्रीबाट विधेयक अघि बढाइएको भन्दै विपक्षीहरुले विरोध गरे ।
विपक्षी दलहरुले ‘वेल’ घेराउ गरिरहँदा सभामुख अर्यालले भने त्यसलाई निर्णयार्थ प्रस्तुत गरेका हुन् ।
संसदमा स्पष्ट झण्डै दुई तिहाइ बहुमत भएको सत्तारुढ दल रास्वपाका सांसदहरुले त्यसमा समर्थन जनाएपछि उक्त विधेयक स्वीकृत भएको घोषणा सभामुखले गरे ।
वेल घेराउ गर्दै विपक्षी दलहरुले ‘राणशाही प्रवृत्ति मुर्दावाद, मुर्दावाद’ भन्दै नारा लगाइरहेका छन् ।
त्यस्तै प्रधानमन्त्री बालेनकै तर्फबाट कानुनमन्त्री गौतमलाई मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्न समय दिए । विपक्षीको विरोधकाबिच कानुनमन्त्री गौतमले उक्त विधेयक टेबुल गरेकी छन् ।
प्रधानमन्त्री बालेन प्रतिनिधि सभा बैठकमा उपस्थित नभएको भन्दै विपक्षीहरुले विरोध जनाएपछि २ः४० बजे प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
बैठक स्थगित गरेर विपक्षी दलहरुसँग छलफल गरे पनि सहमति नजुटेपछि २ घण्टा भन्दा बढी समयपछि बैठक सुरु हुँदा विपक्षीहरुले विरोध जनाएका हुन् । विपक्षीहरुले आफ्नो अडान कायम राख्ने मनस्थिति देखाएपछि सभामुख अर्याल पेलेरै अघि बढेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया