बर्दिबास बालिका बलात्कार पछि हत्या प्रकरण : घाइतेको मृत्यु भएपछि बर्दिबास फेरि आन्दोलित

महोत्तरी । महोत्तरीको बर्दिबास फेरि आन्दोलित भएको छ ।

मङ्गलवार प्रहरीको गोली लागी घाइते भएका बर्दिबास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले बर्दिवासमा आज फेरि आन्दोलन चर्केको हो ।

सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलवार बर्दिबासचोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागी घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाडौं लगिएका न्यौपानेको मङ्गलवार राति मृत्यु भएपछि सो खबर फैलनासाथ आज बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् । न्यौपानेको मृत्युको परिवारजन र प्रहरीबाट पनि पुष्टि भइसकेको छ । बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर्शन भइरहेको छ ।

बर्दिबास–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलवशा (गुलाव साह) खातुनको हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मङ्गलवार भएको आन्दोलनमा भीड नियन्त्रण गर्न चलाएको गोली लागी न्यौपाने घाइते भएका थिए । न्यौपानेसँगै घाइते भएका बर्दिवास–५ का श्याम कार्कीको भने काठमाडौंमै उपचार भइरहेको छ । अर्का लाठीचार्जबाट घाइते भएका मृतक बालिकाका आफन्त आफताव आलमको भने बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

आइतवार साँझ घर वरिपरिबाटै बेपत्ता भएकी बालिका गुलावको शव सोमबार मध्यरातमा घरनजिकैको झाडीमा बोरामा राखेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । बालिका अपहरण र हत्या घटना प्रकरणमा बर्दिवास–१४ शुभम बस्तीमा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई प्रहरीले सोमवार साँझ नै पक्राउ गरेको छ । सोमबार साँझ स्थायी घर गौशाला–५ पुगेका साहले बाबुआमासँग बालिकालाई मारेर भागेको बताएपछि परिवारजनले नै उनलाई इलाका प्रहरी कार्यालय गौशाला पुर्‍याएर प्रहरीको जिम्मा लगाएका थिए । साहलाई बर्दिवास ल्याएर प्रहरीले उनैले देखाएको ठाउँमा सोमवार मध्यरातमा बालिकाको शव बरामद गरेको थियो ।

सोमवार मध्यरातमा शव बरामद भएपछि हत्यारालाई सार्वजनिक ठाउँमा कारवाहीको माग गर्दै मङ्गलवार बिहानैदेखि प्रदर्शनमा उत्रेको भीडले पक्राउ परेका साहको बर्दिवास–१४ स्थित तीनतले घरमा आगजनी गरेका थिए । घटनास्थलमा प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीले बालिकाको शव पूर्वपश्चिम राजमार्गमा लगेर चर्का नाराबाजी गरेका थिए ।

प्रहरीले बालिकालाई बलात्कारपछि हत्या गरेको हुनसक्ने र यसको परीक्षण चाँडै गर्न आवश्यक भएको हुँदा शव परीक्षण गर्न अस्पताल लैजाने बताए पनि प्रदर्शनकारीले शव नदिने अडान लिँदै ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले दर्जनौँ राउण्ड गोली फायर गरेको थियो । प्रहरीले चलाएको गोली लागेर न्यौपाने र कार्की घाइते भएका थिए ।

मङ्गलवार प्रहरी जनशक्ति पर्याप्त भएका बेला भीड तितरवितर गर्न सामान्य बल प्रयोगबाटै स्थिति नियन्त्रणमा आउनसक्ने विकल्प प्रयोग नगरी गोली नै चलाइएको यहाँका सर्वसाधारण बताउँछन् । प्रहरीले भने शव नदिएर प्रदर्शनकारीले आफूहरुमाथि जथाभावी ढुङ्गामुढा हानेपछि बाध्य भएर गोली चलाउनुपरेको जनाएको छ ।

यो पनि पढ्नुहोस् : 

महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !

महोत्तरीमा बालिका हत्या अपडेट स् शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !

खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध

बर्दिवासमा हवाई फायर, स्थिती तनावग्रस्त

फोटोमा हेर्नुहोस् तनावग्रस्त बर्दिवास, आरोपिको घरमा आगो !

थप तनावग्रस्त बन्दै बर्दिबास, हवाइ फायरपछि प्रहरीले चलायो गोली

प्रहरीले बल प्रयोग गरेर खुलायो महोत्तरी बर्दिवास सडकखण्ड

बर्दिबास बालिका हत्या प्रकरण : प्रहरीको गोलीबाट घाइते सञ्जयलाई काठमाडौं ल्याइँदै

बर्दिबास बालिका हत्या प्रकरण : डीएसपी बिष्ट घाइते

हत्या गरिएकी ६ वर्षिया बालिकाको शव पोष्टमार्टमका लागि अस्पतालमा

प्रहरीको गोली लागेका प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?