फोटोमा हेर्नुहोस् तनावग्रस्त बर्दिबास, आरोपीको घरमा आगो !

काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् । सोमवार राति बालिकाको शव बोरामा भेटिएसँगै आक्रोशित बनेका स्थानीयले हत्या आरोपमा पक्राउ परेका आरोपीको घरमा आगजनी गरेका छन् ।

प्रहरीका अनुसार हाल त्यहाँ तीन चार हजारको संख्यामा स्थानीयहरु विरोधमा उत्रिएसँगै उनीहरुको भीड नियन्त्रणका लागि ठुलो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । आक्रोशमा रहेका स्थानीयहरुको भीड अनियन्त्रित भएसँगै प्रहरीले हवाई फायरिङ गरेको थियो ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको छ । घटना पश्चात स्थानीय र प्रहरी प्रशासनबीच छलफल भएको तर कुनै निष्कर्ष ननिस्किएको छैन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतवार साँझदेखि हराएकी थिइन् ।

उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।

ती बालिकाको हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई पक्राउ गरेको छ । मदिराको नसामा घर पुगेका साहले आफूले बालिकाको हत्या गरेको बताएसँगै उनलाई पक्राउ गरेको थियो ।

ती बालिका चकलेट किन्न गएको र साहले उनको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बालिकाको हत्या आरोपमा मंगलवार स्थानीयले बर्दिबासमा मंगलवार (आज) बिहानैदेखि प्रदर्शन गरेका थिए । बालिकाको शव भेटिएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा टायर बालेर अवरोध गरेका छन्, भने उनीहरुले पक्राउ परेका साहको घरमा आगजनी तथा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहलाई पक्राउ गरि हत्या सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?