नेकपा विवाद : कार्यकारी अध्यक्षलाई १२ प्रश्न !

गुरु भट्टराई – आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न पहिलो अध्यक्षसँग पटक-पटक पार्टी, पद्धति, प्रणाली जस्ता एजेन्डाबिहिन बिषय उछालेर कार्यकारी अध्यक्षले देश र विदेशलाइ अस्थिरताको संदेश दिइरहेका छन् ।

प्रधानमन्त्री ओली बिरुद्धको मोर्चाबन्दी देश र जनताका कुन सवाल पूरा गर्न केन्द्रित छ भन्ने कुरा कसैले बताउन सकेको स्थिती छैन । स्वयम् मोर्चाबन्दी गर्नेहरु पनि अमूर्त जवाफ दिएर उम्किने गरेका छन् ।

यसको सामान्य कारण भने प्रष्ट छ – कार्यकारी अध्यक्ष आफू राजनीतिको केन्द्रबाट अलिकति छेउ लागेको महशुस गर्ने बित्तिकै उत्पात हुने गर्छ । यो उहाँको इतिहासले पटक-पटक पुष्टी गरेको कुरा हो । यस अघि पनि जनताबाट प्राप्त शक्ति मुलुकको हितमा लगाउने भन्दा पनि विदेशीहरुको ब्ल्याकमेलिङ गर्ने अस्त्र भएकै हो । मुलुकले के अपराध गर्‍यो कुन्नी तर विदेशीहरुले कार्यकारीलाई मुलुक हितमा सोच्नै नदिने भए । यसको मुल कारण हिजो उनीहरुको बुइ चढेर प्राप्त गरेको राजनीतिक उचाइ नै हो । आज विदेशीहरु त्यसैको ब्याज खोजीरहन्छन् – उहाँबाट । पार्टी, पद्धति, प्रणालीको नक्कली र अमूर्त गफ गरेर फेरि पनि मुलुकलाइ अस्थीरताको भुमरीमा जाक्न चाहने कार्यकारी कामरेडलाई केही प्रश्न छन् : जवाफ आउला ?

१. ज्वाई जेठान, छोरी, बुहारी, दाजु भाइ सारालाई राज्यको कुनै न कुनै निकायमा पदासिन गराउने नेताले आफन्तको नाममा एकजना पनि कहिँ कतै नियुक्त नगर्ने प्रधानमन्त्रीलाइ विधि र पद्धतिको उल्लंघनको आरोप लगाउँछ । आरोप लगाउने नेताको आफ्नै आत्माले त स्विकार्छ कामरेड ?

२.  तीन कठ्ठा जग्गा र तीन तोला सुन सम्पत्ती, करोडौँको आलिसान भवनको बसाइ, राजसी ठाँट, बिदा मनाउन दुबइको हप्तौँ यात्रा चाहिँ बैंक र लडाकुको रकम नै हैन र कामरेडरु अनि आफ्नो सारा सम्पत्ती राज्यको नाममा दिने प्रधानमन्त्री आसेपासे पोस्ने नेता भएको आरोप साँच्चै सुहायो कामरेड?

३. ३५ बर्ष पार्टी बनाउँदै भत्काउँदै आफूलाइ अध्यक्ष घोषणा गर्दै नेतृत्वमा रहने, देशैभरीका कार्यकर्ताबाट मिनी महानिर्वाचन भनिने महाधिबेशनबाट निर्वाचित अध्यक्षले राजीनामा दिनु पर्ने कामरेड ?

४. बनमारा हुर्केझैँ हलक्क हुर्केर त्यसपछि पात झर्दै झर्दै गरेर सिन्कामा परिणत हुन लागेको तपाईको पूर्व पार्टी घरी एउटासँग जोडिएर घरी अर्कोसँग जोडिएर ज्यान जोगाउनु पर्ने ठाउँमा आउँदा अँगालो थापिदिने ओली काँढा बिझ्न थाल्यो कामरेड?

५. क्यानटुनमेन्ट घोटाला सम्बन्धि शेरचन आयोगले गरेको छानबिनको प्रतिवेदन बिरालाले दिसा लुकाए झैँ लुकाउने अनि भ्रष्टाचार अन्त खोज्दै हिँड्ने कामरेडहरु नेपालको इतिहासमै सबैभन्दा ठूलो घोटाला कान्ड क्यानटुनमेन्ट घोटाला हो, त्यो समय आएपछि पर्दाफास हुँदैन र कामरेड ?

६. राजनीति भनेकै ठग, धोखाधडी, हत्या, बैमानी हो भन्ने शिक्षा आमकार्यकर्तालाइ सिकाउने (रोल्पाका मगरहरुको एक आपसमा लड्ने जात्रालाई युद्धमा परिणत गर्ने कुरा होस् वा शक्तिखोरको माफिया र डकैत शैलीको भाषणको टेपका कुरा हुन् ?) राजनीति यस्तै डनगिरी र अन्डरवर्ल्डको विधा झैँ लाग्छ  कामरेड ?

७. निर्वाचन भनेपछि लुगलुग काम्ने, नेतृत्व चाहिँ नभै नहुने यो कुन राजनीतिक चेतको परिणाम हो कामरेडरु आगामी महाधिबेशनमा अध्यक्ष पनि नचुनिने, प्रधानमन्त्री पनि हुन नपाउने दृष्य झलझली देख्दाको छट्पटी नभए के हो त कामरेड ?

८. राजनीति र पार्टी आफू अनुकुल भए मार्क्सवाद हो, विपरित भए मार्क्सवाद हैन  (अर्थात् मार्क्सवाद भनेको “हो पनि हैन पनि”) भन्ने बुझाइका नेताले समाजवादी यात्रा गर्लान् कमरेड?

९.  आफू अनुकुल नहुँदा वैद्य र गजुरेललाइ भारतीय जेलमै सडाउन भारतिय सत्तासँग मिलोमतो गर्ने तर आफू सपरिवार भारतका ठूला-ठूला शहरमा बसेर बैंक लुटेको रकममा मोजमस्ति गर्ने, बाबुराम, हिसिलाहरुलाइ रुकुम-रोल्पाका डाँडाबाट डम्पिङ गर्ने योजना बनाउने, पम्फा भुषालहरुलाइ बेनी आक्रमणको नाममा सफाया गर्न कमान्डर बनाएर पठाउने (तपाईले पढेको मार्क्सवादी द्वन्दात्मक भौतिकवाद ) यस्तै हो कामरेड ?

१०.  केपी ओली प्रधानमन्त्री भएदेखि हरेक २-४ महिनामा लफडा झिकेर अस्थिरताको बिउ रोप्दा उठाएका बिषयहरु मध्ये कुनै एउटा बिषय जनतालाई बताउन सक्नुहुन्छ कामरेड  ? (जुन देश र जनताको चिन्ताबाट उठेको होस् ।)

११.  जति-जति अस्थिरता उति-उति क्रान्ति, लुटपाट र मोजमस्ती गर्न पाए किन चाहियो शान्ती यही हैन – तपाईको मार्क्सवादी चेत कामरेड?

१२.  सुमार्गीको रातारात खर्बपति यात्रा, चौधरी ग्रुपलाइ जबरजस्ती टेलिकमको लाइसेन्स दिन गरिएका तपाईको मपका निर्णय, बिजय मिश्र मार्फत प्रेस खरिदमा अर्बौ घोटाला गर्ने प्रपञ्च असफल भएपछि मञ्चन गरिएका नाटक, माफियाहरुलाइ कान्छी औंलाले डोर्‍याउँदै सिंहदरबारमा मन्त्री थर्काउने हर्कत ९ यी सबै मुलुक र जनताका हितमा गरिने कर्म हुन कामरेडहरु ? प्रश्नहरु अनगिन्ती छन् जवाफ सधैँ अनुत्तरित । कति प्रश्न गर्नु ?

(समसामयिक राजनीतिक विषयवस्तुमा कलम चलाउने भट्टराई वरिष्ठ सिभिल इन्जिनीयर हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?